जनता टाइम्स

१३ चैत्र २०७८, आईतवार १५:४८

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए


काठमाडौं, १३ चैत्र । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुभएको छ । २५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आज स्वदेश फर्किनुभएको हो । शनिबार बिहानदेखि वाङले औपचारिक भेटघाट सुरु गर्नुभएको थियो ।

शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उहाँले भेटघाट गर्नुभएको थियो । त्यसअघि उहाँ बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जानुभएको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार नै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको थियो ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको थियो । वाङले आज नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको थियो । विदेशमन्त्री वाङले भेघअघि दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारीसमेत लिनुभएको थियो ।