काठमाडौं, चैत्र १४ । गत साता एमाले प्रवेश गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गर्नुभयो । कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा उहाँले भाषण गर्नुभएको हो ।
भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै अलि हडबडाएको जस्तो गरेपनि आफूलाई बोल्न अवसर दिएकोमा उहँले आभार प्रकट गर्नुभयो । ‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भन्नुभयो, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’ विगतमा जहाँ–जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उहाँले बताउनुभयो । ‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उहाँले भन्नुभयो ।
छोटो भाषणको अन्त्यमा उहाँले एउटा नयाँ खुलासा पनि गर्नुभयो । ‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उहाँले भन्नुभयो , ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’ भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी समेत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्