जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १५:५५

एमालेले गरेका कामहरु लिएर जनतामा जान अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ, चैत १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामहरु लिएर जनतामा जान निर्देशन दिनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे ‘भर्चुअल कार्यशाला’ मा अध्यक्ष ओलीले सम्बोधन गर्दै नेता कार्यकर्ताहरुलाई जनतामा जान निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा होमिन पनि ओलीले आग्रह गर्नुभयो । कार्यशालामा प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि जानकारी दिनुभएको थियो ।

त्यस्तै, मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभएको थियो । कार्यशालमा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र एमालेबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए ।