काठमाडौं, चैत्र १६ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। अब रिट खारेजसँगै टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो ।
टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो । टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।नियुक्ति निर्देशिका संशोधन गर्दै योग्यता पुगेकोलाई समेत रोक्नेगरी काम भएको भन्दै सबै प्रक्रिया रद्द गर्नुपर्ने मागसहित दुईवटा मुद्दा दायर भएको थियो ।उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।उक्त रिटउपर सर्वोच्चका न्यायाधीश दीपकुमार कार्की र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनवाईको निम्ति पेस गर्न आदेश दिएको थियो ।
त्यसैका आधारमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएसँगै अब प्रक्रिया अघि बढ्ने भएको हो ।योसँगै पुरानै प्रक्रियाले निरन्तरता पाएको छ । यसको अर्थ यसअघि आएका आवेदनलाई मान्यता दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनोटको काम अघि बढाउने छ । यसअघि मन्त्रालयले मागेको आवेदनमा ९ जनाले आवेदन दिएका थिए । अदालतमा दायर भएको रिट खारेज भएपछि सम्भवतः आगामी हप्ताभित्रै ३ जनाको नाम सर्टलिष्टमा पारेर सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्नेछ ।
प्रबन्ध निर्देशक बन्न आवेदन दिएका ९ जनामा टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, व्यवसायिक अधिकृत संगिता पहाडी, खानेपानी संस्थानका पूर्वमहानिर्देशक अर्जुनबाबु ढकाल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल, टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापा, अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक समेत प्रतिस्पर्धामा रहेको सञ्चार मन्त्रालयले जनाएको छ। आवेदकमध्ये पहाडी, आचार्य र पौडेललाई बलिया दाबेदारका रुपमा चर्चा हुने गरेको छ ।













प्रतिक्रिया दिनुहोस्