जनता टाइम्स

२४ असार २०७६, मंगलवार १३:३६

भीमसेन थापा स्मृति पुरस्कार प्रा. डा. वैद्यलाई


काठमाडौं, असार २४

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रा. डा. तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । विगत पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेख प्रकाशित गरी समाजमा महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले प्रदान गर्ने सो पुरस्कारको राशि रु ५१ हजार १११ रहेको छ । भीमसेन थापाको २४४ औँ स्मृति दिवसका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिनुभयो । पुरस्कार छनोटका लागि प्रा. डा. मोहन लोहनीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिष्ठानले विगत दुई दशकदेखि इतिहासको क्षेत्रमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष प्रा .डा. पार्थिवेश्वरप्रसाद तिमल्सेनाले बताउनुभयो । उक्त पुरस्कार गत वर्ष बेलायती इतिहासकार डा. जोन हवेल्म्पटनलाई प्रदान गरिएको थियो ।