जुम्ला, १७ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताउनुभयो । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताउनुभएको हो ।
‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उहाँले भन्नुभयो,‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।’ जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताउनुभयो । उहाँले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताउनुभयो ।
उहाँले मार्सीचामल नेपालको ओरजिनल ब्रान्ड भएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभयो । ‘म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरी गर्न सकिन्छ भनेर आफै पुगेको छु,’ उहाँले थप्नुभयो,‘आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।’
नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राखेको उहाँले बताउनुभयो । विद्युत, टेलिफोन टावर, विद्युत्को ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन एमालेको ध्यान केन्द्रित हुने उहाँले सुनाउनुभयो । नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको ओलीले दाबी गर्नुभयो । उहाँले अहिले सरकार जनतालाई ढाँट्ने धाउन्नमा रहेको बताउनुभयो ।
































प्रतिक्रिया दिनुहोस्