चितवन, १८ चैत । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल भुसाल र चन्द्र भुसालको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–१६ स्थित एजे पोल्ट्री फार्म र भरतपुर–२३ अभिशेक रामदामको कुखुरा फार्ममा पनि बर्डफ्लु भेटिएको उहाँले बताउनुभयो । बर्डफ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी करिब ४६ सय कुखुरा रहेको उहाँले बताउनुभयो ।
अरु फार्ममा कुखुरा गन्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘आठ फार्ममा एक÷दुई दिनअघि मात्रै बर्डफ्लु भेटिएको हो’, उहाँले भन्नुभयो, ‘सबै फार्ममा कुखुरा गन्नै बाँकी छ । बर्डफ्लु भेटिएका फार्ममा आजदेखि नै हामीले कुखुरा नष्ट गर्न सुरु गरेका छौँ ।’ बर्डफ्लु रोग नियन्त्रणका लागि बर्डफ्लु भेटिएका फार्म आसपासका पक्षी तथा पक्षीजन्य सामग्री पनि नष्ट गर्ने निर्णय गरिएको हो ।
बर्डफ्लु नियन्त्रण समितिका सदस्यसमेत रहेका न्यौपानेले फार्म आसपासमा इडिट टिमलाई उपयुक्त लागेको स्थानसम्मका पक्षी नष्ट गर्ने बताउनुभयो । पशु सेवा विभागको पत्रानुसार समितिले उक्त निर्णय गरेको हो । प्रभावित क्षेत्रभित्र बर्डफ्लु नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय भएको छ ।
त्यस्तै, पक्षी र पक्षीजन्य सामग्री नष्ट गर्दा नोक्सानी व्यहोरेका व्यक्तिलाई राहतका लागि कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुरोध गर्ने र बर्डफ्लु नियन्त्रणमा खटिने जनशक्तिको स्वास्थ्य निगरानीका लागि स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय भएको छ । बर्डफ्लु प्रभावित क्षेत्र वा निगरानी क्षेत्रबाट रोग सार्न सक्ने पक्षी वा पक्षीजन्य सामग्रीको ओसारपसारमा रोक लगाइएको छ । शंकास्पद पक्षीमा रोगको यकिन गर्न रेपिड टेस्ट किट परीक्षण गर्ने निर्णय पनि भएको छ ।













प्रतिक्रिया दिनुहोस्