जनता टाइम्स

२४ असार २०७६, मंगलवार १४:३६

राष्ट्रिय परिचयपत्रमा प्रधानमन्त्री पत्नी राधिका शाक्यकै जन्ममिति फरक परेपछि…


काठमाडौं, असार २४

सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने महत्वकांक्षी योजना अघि सारिरहेको छ । जस अनुसार कामपनि शुरु भईसकेको छ । तर, शुरुवातमै राष्ट्रिय परिचयपत्रमा गम्भिर गडबढी देखिएको छ । राष्ट्रिय परिचयपत्र भनेको सबै परिचयपत्रको जानकारी राख्ने एकमात्र परिचयपत्र हो ।

सो परिचयपत्र बोकेपछि अन्य परिचयपत्र बोक्नु नपर्ने बताइदै आएको छ । परिचय पत्र वितरण अन्तर्गत गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्री केपी शर्मा ओली र उहाकी पत्नी राधिका शाक्यको परिचयपत्र वितरण गरेको छ ।

‘बायोम्याट्रिक’ सूचनासहितको बनाइएको राष्ट्रिय परिचयपत्रमा गम्भिर त्रुटि रहेको फेला राधिका शाक्यले पत्ता लगाउनु भएको हो । विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री र उहा दुवै जनालाई परिचयपत्र हस्तान्तरण गर्नुभएको थियो । परिचयपत्र बुझे लगत्तै शाक्यले हेरेपछि आफ्नो जन्ममिति फरक परेको भेट्टाउनु भयो ।

उहाले यो आफुले टिपाएको भन्दै फरक जन्ममिति परेको भन्दै तत्कालै यसलाई सच्याउन आग्रह गर्दै परिचयपत्र फिर्ता दिनु भएको हो । विभागले प्रधानमन्त्री पत्नीकै जन्ममिति फरक पारेपछि यसको विश्सनियतामै प्रश्न उठेको छ ।

प्रधानमन्त्री ओलीको परिचयपत्रमा भने सबै कुरा मिलेको थियो । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।

भागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।