दैलेख चैत्र १८। दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किनुभएको छ । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज हुनुभएको थियो। थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गर्नुभएको छ । प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गर्नुभएको छ ।
‘म मूलघरमै फर्किएको छु । लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको थियो । अब एमालेमै फर्केर जनताको सेवामा खट्छु’, पार्टी प्रवेशपछि थापाले भन्नुभयो , ‘एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’ अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिनुभयो ।
‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं ।’ उहाँले भन्नुभयो, ‘अब स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँघरमा केन्द्रीत हुन आवश्यक छ । यहाँहरु सबै जना पालिका निर्वाचनको तयारीमा लाग्नुस् ।’













प्रतिक्रिया दिनुहोस्