काठमाडौं, चैत १८ । श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनःस्थार्पना हुने अधिकारबाट बञ्चित भएको भन्दै पढ्न पाउनुपर्ने माग गरेका हुन् ।
यस सम्मेलनमा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले सहभागी जनाउनुभएको थियो । श्रवणदृष्टि विहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुर्वे शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई स्कुलले भर्ना लिए, आवश्यक सहयोग संघको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले आँखा पनि नदेख्ने र कान पनि नसुन्ने बालबालिकाले अन्य बालबालिका सरह सिक्न नसकेपनि घरमा थुनेर राख्दा भन्दा समुहमा राखेर सिकाउँदा आफ्नो दैनिकी आफैं गर्न सक्ने, आफ्ना साथी चिन्ने, अभिभावकले धेरै समय दिनु नपर्ने र समाजमा घुलमिल हुनेलगायतका क्षमताको विकास हुने अनुभवका कारण समावेशी सिकाइका लागि स्कुलले भर्ना लिन माग गरेको बताउनुभयो । उहाँले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र आयातको समेत व्यवस्था सङ्घले गर्ने र सम्वन्धीत स्कुलकै शिक्षकलाई तालिम दिलाउने समेत बताउनुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो,‘अपाङ्गता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन, स्थानिय सरकार, शैक्षिक संस्थाले पनि समन्वय गरेर सिक्ने अवसर प्रदान गर्न अभिभावकहरूको सामुहिक माग हो ।’ श्रवणदृष्टि विहीन भएका बालबालिकाको लागि समावेशी शिक्षा प्रवर्धन परियोजना संयोजक शंकर सिंह चैसिरले सबै क्षमताका बालबालिकाले अन्य विद्यार्थीसँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार भएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका बालबालिकामध्ये सबैभन्दा उपेक्षित श्रवणदृष्टि विहीन बालबालिकालाई समाजमा घुलमिल हुने, केही सिक्ने अवसर स्कुलहरूले प्रदान गर्नुपर्ने सुनाउनुभयो । उहाँले समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुनु पाउनुपर्ने अडान दोहोर्याउनुभयो । १० प्रकृतिको हुने यस अपाङ्गता भएका व्यक्तिमध्ये वि.सं. २०६८ जनगणना अनुसार श्रवणदृष्टि विहीनको मात्रै नौ हजार ७१४ जना रहेको तथ्याङ्क छ ।
यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिले सुघेर, छोएर र स्वाद लिएर खाना, परिवारका सदस्य, साथी र वरपरको वातावरणको अवस्था थाह पाउने क्षमता रहेको पाईएको संघले जनाएको छ । त्यस्तै श्रवणदृष्टि विहीन बालिकाका अभिभावक बबिता धौवन्जारले आफ्ना छोरीलाई दिवा सेवा प्रदान गर्ने संस्थामा राख्दा केही परिवर्तनको महसुस गरेकोले स्कुलमा राख्ने अवसरको खोजीमा रहेको बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्