दोलखा, चैत्र १९ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनका लागि देशभर एमालेलाई बढार्ने भन्दै बनेको गठबन्धन आफै बढारिने बताउनुभएको छ । चरिकोटमा शुक्रबार एमाले दोलखाको अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिँदै उनले गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दाबी गर्नुभयो ।
‘राम्रो काम गर्ने सरकारलाई हटाएका दिनबाटै उनीहरु हार्ने दिन सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘यो समय नेकपा एमालेले जित्ने समय हो, हार्ने योजनामा उनीहरुका छन् ।’ उहाँलेप्रतिनिधिसभा विघटन माधव नेपाल, प्रचण्डले भनेजस्तो अन्तर्संघर्षका कारण नभएको बताउनुभयो । नेपाली कांग्रेसलाई नेता मानेर पछिसम्मै गठबन्धन गर्ने माधव, प्रचण्ड कम्युनिस्ट नभएको उहाँको आरोप थियो ।
‘हिजोसम्म केपी ओलीको झगडामा शेरबहादुर देउवालाई समर्थन गरेँ भन्ने कुरा स्वीकारिन्थ्यो होला,’ उहाँले भन्नुभयो , ‘आज त कांग्रेसलाई नेता मानेर रुखमा भोट हाल्न पछिसम्मै गठबन्धन रे , प्रचण्ड र माधवलाई कम्युनिस्ट भन्न मिल्छ ?’ उहाँले झन्डा हसियाँ हथौडाको भोट रुखमा भन्ने कम्युनिस्टहरु हुनै नसक्ने बताउनुभयो । माधव र प्रचण्डले शेरबहादुरलाई गरेको सेवाका कारण कांग्रेसका कार्यकर्ताको दाँतमात्रै होइन, हड्डी पनि हाँसेको उहाले तर्क गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्