जनता टाइम्स

२१ चैत्र २०७८, सोमबार १९:३५

डाक्टर बिष्णु मायालाई त्रि.वि. दलित युनियनको सम्मान


काठमाडौं, २१ चैत । सामाजिक अभियन्ता, मानवाधिकार, घरेलु हिंसा र दलित अधिकारको बारेमा राष्ट्रिय योगदान र अन्तराष्ट्रिय छवि भएको डा. बिष्णुमाया परियारलाई नेपाल आएको मौका पारेर त्रिवि दलित युनियनले सम्मान गरेको छ । शनिबार सम्मान तथा बधाई कार्यक्रम राखेर उहाँको योगदानको कदर गरेको हो ।

दलित विद्यार्थी युनियन त्रिविको आयोजनमा त्रिवि परिसरमा भएको कार्यक्रमको संयोजन र स्वागत मन्तव्य दीपा नेपालीले दिनुभएको थियो । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशका सांसद दान सिंह परियार र ‘आत्मसम्मान, मर्यादा, समता अनि सभ्यता सबैको बराबरी’ अभियानकर्मी संजिव कार्कीले परियारलाई सम्मान गर्नुभएको थियो ।

प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डाक्टर लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डाक्टर विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको छ । दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्ये ५९१–५९४ बीच चार पृष्ठमा डाक्टर विष्णुमायाको जीवनी छ । जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ ।

कार्यक्रममा युनियनका अध्यक्ष विपिन विश्वकर्माले अमेरिकामा २७ सेप्टेम्बरलाई बिष्णु माया डे घोषणा गर्छ र भव्य सेलिब्रेट गर्छ भन्दै उहाँले हामी पनि हाम्री नेपाली चेलीलाई सम्मान गरौं । उहाँबाट प्रेरणा लिऔं भन्नुभयो । उहाँको बारेमा नेपालका शैक्षिक स्थलमा पनि पढाइ होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु नेतृ दीपा नेपालीको भनाइ छ ।

कार्यक्रममा मीम बहादुर परियार र सांसद परियारले बिष्णु मायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गर्नुभयो । सम्मानित व्यक्तित्व बिष्णु मायाको संघर्ष दुःख र सफलताको कहानी सुन्दा दर्शकदीर्घामा दुख र हर्षको आँशु नै छचल्किएको थियो ।

स्वयं बिष्णु माया समेत आफ्ना दुख सुनाउँदा भक्कानिएको भाव देखिएको थियो । देश विदेशमा योगदान र नाम भएको मान्छेबारे राज्य बेखबर हुनु, राजनीतिक पार्टीहरू स्वयं दलितका सङ्घ संगठन मौन बस्नुमा चै दुःख लागेको सहभागीहरूको टिप्पणी र गुनासो थियो । उक्त कार्यक्रममको सञ्चालन भने राधिका बोहोराले गर्नुभएको थियो ।