जनता टाइम्स

२४ असार २०७६, मंगलवार १९:१३

बाढीले गर्दा चाकुखोलामा विद्युत उत्पादन बन्द : उच्च जोखिममा पर्यो चाकु बजार


सिन्धुपाल्चोक, असार २४

भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको छ । शनिबार राति आएको बाढीले क्षति पुर्याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको हो ।

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा निर्माण गरिएको सो आयोजनाबाट उत्पादित ६ दशमलव ५ मेगावाट विद्युत पूर्णरुपमा बन्द भएको छ । त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउन करीब तीन महीना लाग्ने आयोजनाका व्यवस्थापक सागरमान सिंहले जानकारी दिनुभयो । आयोजनाको हेडवक्र्स, इन्टेक, ट्रान्समिसन, टेलरेस विद्युत गृह लगायतमा लेदो पसेर क्षति पुगेकाले २० करोड रुपैया मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाले जनाएको छ । प्राविधिक टोलीले निरीक्षण गरेपछि मात्र क्षतिको यथार्थ विवरण प्राप्त हुने आयोजनाले जनाएको छ ।

त्यसैगरी २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनामा एक अर्ब ५० करोड मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको शिवश्री हाइड्रो पावरका कार्यकारी निर्देशक उमेश कसजुले बताउनुभयो । पहिरोले खोला थुनिएपछि आएको बाढीले विद्युत् गृह र मेशिनलाई क्षति पुर्याएको छ । यसै महीनाको अन्त्यमा परीक्षण उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको मर्मत गर्न करीब ६ महीना लाग्ने कार्यकारी निर्देशक कसजुले बताउनुभयो ।

बाढीले आयोजनाभन्दा तल रहेको अरनिको राजमार्गको चाकुबजारस्थित चाकुखोलाको पक्की पुल मुनी ठूलाठूला ढुंगा थुपारेर दाँयाबाँया कटान गरेपछि वरिपारी रहेको चाकु बजार उच्च जोखिममा परेको छ । बस्ती जोगाउन स्काभेटरले ढुंगा पन्छाइ बस्तीलाई सुरक्षा प्रदान गर्ने काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

बाढीले माथिल्लो भोटेकोशी आयोजनाको चाकुबजार र झ्यालेभीरमा रहेको दुईवटा प्रशारण लाइनको टावरसमेत ढालेको छ ।