जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १७:४०

ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, चैत २२ । प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा पत्रकार ऋषि धमलालाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ । बिमानका कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो ।

शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गर्नुभएको थियो । धमला प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेको भिडियो सार्वजनिक भएपछि चर्काे आलोचना भएको थियो ।

काउन्सिलले धमलालाई पठाएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’

काउन्सिलको स्वअनुगमनमा पनि जबरजस्तीरूपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको पत्रमा उल्लेख छ ।