जनता टाइम्स

२३ चैत्र २०७८, बुधबार २१:२०

भक्तपुरका सवै सडक धुलोमुक्त बनाउँछौं –सांसद बस्नेत


भक्तपुर, चैत्र २३ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी आर्थिक वर्षभरिमा भक्तपुरका सम्पूर्ण सडकहरु धुलोमुक्त बनाउने उद्घोष गर्नुभएको छ । आगामी वर्षभित्रमा भक्तपुरका सवै सडकहरु कालोपत्रे गरी सक्ने उद्घोष गर्दै उहाँले सडक कालोपत्रे बनिसकेपछि भक्तपुरका सवै सडक धुलोमुक्त हुने बताउनुभएको हो ।पुनः निर्माण प्राधिकरण र एडीबिको सहयोगमा ७ करोड ५० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयको अत्याधुनिक २ वटा भवनको उद्घाटनको क्रममा बोल्दै नेता बस्नेतले आगामी वर्षदेखी भक्तपुरका जनताले धुलो भएको सडकमा हिड्नु नपर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्को वर्ष भरिमा जनताले धुलो सडकमा हिड्नु पर्दैन, धुलोमुक्त सडक बनाउँछौं ।’ इतिहासमा मल्ल काललाई स्वर्ण काल भन्ने गरिने गरेको उल्लेख गर्दै उहाँले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा गरिएको विकास र समृद्धिको यात्राले उक्त इतिहासलाई उल्ट्याइदिएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी ओली पहिलो पटक ९ महिना र दोस्रो पटक ४० महिना प्रधानमन्त्री हुँदा विकास निर्माणका सवै कुरा हेर्दा अब विकासको स्वर्ण युग मल्ल काल हैन, अब स्वर्ण युग केपी ओली काल हो भन्ने प्रमाणीत भइसकेको छ । केपी ओली आए कि विकास भयो, एमाले आयो कि विकास भयो । चिसो भनेकै कोकाकोला भनेजस्तै विकास भनेकै एमाले, नेता भनेकै केपी ओली, पार्टी भनेकै एमाले भयो र जनताको विश्वास जितेको छ । आगामी निर्वाचनमा विवेक पुर्याई जनताले एमालेलाई मतदान गर्नुहुनेछ ।’

एमालेको नेतृत्वले गल्ती गरेको भए सच्याउन तयार रहेको उल्लेख गर्दै जनताले गंभिर भएर समिक्षा गरी अबको निर्वाचनमा एमालेलाई मतदान गर्न आग्रह गर्नुभयो । तीन वटै तहको जनप्रतिनिधिले गर्दा भक्तपुरको विकासले स्वर्ण युगको रुपमा लिन पाएको उल्लेख गर्दै उहाँले सूर्यविनायक नगरपालिकामा ३७ वटा विद्यालय, चाँगुनारायणमा ४२ वटा विद्यालयका भवन बनेको जानकारी गराउनुभयो ।

भक्तपुरले आफ्ना आसेपासेलाई बजेट विद्यालयको भवन बनाउने भक्तपुर नगरपालिकाले ६ वटा मात्र विद्यालयको भवन बनाएको आक्रोस व्यक्त गर्दै वर्तमान सरकारले सडकको लागि असंख्य योजना तथा बजेट कटौति गरे पनि अन्य विकल्प खोजी उक्त सडक निर्माणको लागि बजेट व्यवस्थापन गरेको जानकारी गराउनुभयो । अस्पतालका भवनहरु समेत निर्माण करिव सम्पन्न भएको उल्लेख गर्दै उहाँले मन्दिर पुनः निर्माणका कार्यहरु समेत करिव करिव अन्तिम चरणमा रहेका बताउनुभयो ।

विद्युत, खानेपानी, ढललगायतका जनतालाई अति आवश्यक पर्ने विकासका कार्यहरु धमाधम बनिरहेको बताउँदै उहाँले भक्तपुरमा नयाँ स्मार्ट सिटी बन्नेमा विश्वस्त पार्नुभयो । वर्तमान सरकारले स्मार्ट सिटी बनाउने एक अर्ब बजेट कटौती गरेको उल्लेख गर्दै उहाँले उक्त बजेट कटौती नगरी भक्तपुरवासीको विकास र समृद्धिको सपनालाई चकनाचुर नबनाउन आग्रह गर्नुभयो ।

सात वटा खोलामा नयाँ करिडोर निर्माण भइरहेको उल्लेख गर्दै उहाँले बजेटको व्यवस्थापन भइसकेको बताउनुभयो । स्थानीय तहका निर्वाचन पछि हनुमन्ते करिडोर तिव्र गतिमा बन्ने प्रतिवद्धता जनाउँदै उहाँले विकासकै कारण भक्तपुर अध्ययन तथा अनुसन्धानको क्षेत्रको रुपमा विकास भएको बताउनुभयो । हनुमन्ते आफन्त र आसेपासेलाई नदीका जग्गा कब्जा गरेकाले केही मात्रामा मनोहरा र हनुमन्ते नदीको करिडोर निर्माणमा अवरोध भएको गुनासो व्यक्त गर्नुभयो ।

सूर्यविनायकमा ८ वटा ठूला पुल र साना २७ वटा पुल निर्माण भइसकेको उल्लेख गर्दै उहाँले गठ्ठाघरमा पाँच हजार क्षमताको आधुनिक सभागृह बनाएरै छोड्ने उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वमा सरकार बनेसँगै भक्तपुरमा ठूला ठूला आयोजनाहरु निर्माण सम्पन्न हुने दावी गर्नुभयो । पलासेमा ५७ रोपनी जग्गामा रंगशाला बनाउने प्रकृया नगरपालिकाले अगाडी बढाइसकेको जानकारी गराउँदै उहाँले बताउनुभयो ।