जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार १२:३८

राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेश सुरु, १७ पदाधिकारी सहित १५१ सदस्यीय समिति बनाईंदै


काठमाडौं, २४ चैत । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन कमलादीको प्रज्ञा भवनमा सुरु भएको छ । नियमित समय भन्दा तीन वर्ष ढिला गरी हुन लागेको यो महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनको तयारीबारे जानकारी दिन विहिबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष रामबहादुर चन्दले सम्पूर्ण तयारी पुरा भएको बताउनुभएको थियो ।

नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा स्थापित संघलाई यो महाधिवेशनबाट विधान संसोधन गरि महासंघमा रुपान्तरण गरिने भएको छ । उहाँले भन्नुभयो, ‘सात वर्ष अघि दाङमा भएको संघको तेस्रो महाधिवेशनबाट ७९ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित गरेको थियो । तर यसपटक केन्द्रीय समितिमा झण्डै दोब्बर बढी संख्या रहने बताइएको छ । अब बन्ने टिम १७ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटि बन्ने छ ।’

संघका महासचिव डा. झलक शर्मा गौतमले ७० वटा भन्दा बढी जिल्ला स्तर र सातै प्रदेश र ६ वटा विषयगत घटकका समितिहरुरको अधिवेशन सम्पन्न भईसकेको भन्दै महाधिवेशनका लागि ७०० बढी प्रतिनिधिहरु चुनिनुभएको बताउनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि १४ वटा तयारी समिति समेत बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

‘अहिले विभिन्न घटकमा गरेर करीव २८ हजार सदस्य पुगेको अवस्था छ । घटकको संख्या पनि १० पुर्याउने योजना छ र स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान संस्था बनाउने योजना छ,’ संघका सचिव डा. सन्तोष पौडेलले भन्नुभयो ।

उहाँले पार्टीको जनवर्गीय संगठन भएको नाताले पार्टी निकट स्वास्थ्यकर्मीहरुको हकहितका अलावा पार्टीको स्वास्थ्य नीतिको बारेमा आफ्नो संघले विभाग मार्फत पार्टीको नीति बनाउन सल्लाह सुझाव दिने बताउनुभयो । उहाँले आज उद्घाटन सत्र र त्यसपछि बन्द सत्रमा विभिन्न प्रतिवेदन र विधान परिवर्तनका विषयमा छलफल हुने र अन्त्यमा नयाँ नेतृत्व चयन गरी महाधिवेसन सम्पन्न हुने सुनाउनुभयो ।