काठमाडौं, २५ चैत । स्वास्थ्य बीमाको नविकरण गर्न दर्ता सहयोगी खोज्न नपर्ने भएको छ । बीमा सुरु भएको छैटौँ वर्ष पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आजबाट अनलाइनबाट नविकरण गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नयाँ सुविधाको शुभारम्भ गर्नुभयो ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी सोभियत रिजालका अनुसार पहिलो चरणमा कनेक्ट आईपीएस र खल्ती एपबाट यो सुविधा लिन सकिन्छ । उहाँले ई सेवा लगायत अन्य डिजिटल वालेटबाट विस्तारै यो सेवा दिईदै जाने जानकारी दिनुभयो ।बोर्डका आईटी अफिसर कालुसिंह कार्कीले कनेक्ट आईपीएस र खल्ती एपबाट विमितहरुले आजबाटै आफ्नो स्वास्थ्य बीमा नविकरण गर्न सकिने बताउनुभयो ।
कनेक्ट आईपीएसमा गएर आफ्नो पोलिसी नम्बर हालिसकेपछि स्वास्थ्यबीमा नविकरण गर्न सकिन्छ । सूचना अधिकारी रिजालले सेवा केन्द्र परिवर्तन गर्नु परेमा भने निवेदन लिएर बीमा गरेकै ठाँउको कार्यालयमा गएर निर्णय गराउनु पर्ने उहाँले बताउनुभयो । त्यसो त बीमा बोर्डले आजबाटै आफ्नो मोवाइल एप्लिकेशन एचआईबी प्रोफाइल एप समेत सञ्चालनमा ल्याएको छ ।
यसबाट स्वास्थ्य बीमामा आवद्ध नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी अब आफ्नै मोबाईलबाट लिन सक्ने छन् । आईटी अफिसर कार्कीले शुभारम्भ आजबाट गरे पनि सेवा लिनका लागि नागरिकले करीब एक साता कुर्नु पर्ने बताउनुभयो । विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा छ । अहिले प्रति परिवार (पाँच जना) ले बार्षिक ३ हजार ५०० रुपैयाँ रकम तिर्दा १ लाख रुपैयाँ सम्मको उपचार लिन सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्