जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार १९:२८

चैत्र २७ देखि २९ सम्म ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुँदै


काठमाडौं, २५ चैत । आठौँ स्वास्थ्य तथा जनसंख्या सम्मेलनको तयारी पूरा भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को आयोजनामा सोमबारदेखि सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुती हुने आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरुको सहभागिता रहने सम्मेलनको यस वर्षको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्धनःनेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ रहेको छ । चैत्र २७ देखि २९ सम्म गरी ३ दिन चल्ने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा ८७ वटा पोष्टर प्रस्तुती, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको आमन्त्रित प्रस्तुतीकरण पनि रहनेछ ।

परिषद्ले गरेका काम कारवाहीमा जानकारी दिन, प्रतिक्रिया प्राप्त गर्न र सुधार गर्नका लागि, जनस्वास्थ्यका विषयमा छलफल गर्नका लागि यो सम्मेलन प्रत्येक वर्ष आयोजना हुने गरेको उहाँको भनाइ छ । सम्मेलनलाई पारदर्शी बनाउनका लागि परिषद्ले साइन्टीफिक कमिटी, स्टेरिङ कमिटी, आयोजक समिति र अवार्ड छनोट उपसमिति गठन समेत गरिसकेको छ ।

सम्मेलनको पहिलो दिनमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तरर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्था, अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण हुनेछ ।

त्यस्तै, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन, दुई वटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरुमा प्रस्तुतीकरण र छलफल हुनेछ। तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यवान्यवन अनुसन्धानला बारेमा छलफल र समानान्तर सत्रहरु रहनेछ। जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे वृहत छलफल हुनेछ ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ । जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड ९ओरल० र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् ।

त्यस्तै, पबमयुडमा इन्डेक्स भएको बायोमेडिकल जर्नलमा विगत ५ वर्षदेखि सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ । गत वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट सम्मेलन गरिएको थियो ।