बुटवल, २६ चैत । चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहनुभएको थियो । माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको नेतृ भुसालले बताउनुभयो ।
निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएको थियो । तर नेतृत्वले उहाँलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएको थियो । भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलगायतले एमालेमा स्वागत गर्नुभएको हो ।
नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपु, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मुमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेललगायत छन् ।
कार्यक्रममा बोल्दै एमालेका सचिव छविलाल विश्वकर्माले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अब कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गर्नुभयो । आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उहाँले बताउनुभयो ।
एमाले स्थायी समिति सदस्य मणि थापाले माओवादी केन्द्रको आफ्नो अस्तित्व र पहिचान मेटिँदै गएको भन्दै अब सही बाटो हिँड्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल नगर इन्चार्ज कृषि पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्