जनता टाइम्स

२६ चैत्र २०७८, शनिबार १९:५८

कस्मेटिक व्यवसायी संघमा तिमल्सिना, यी हुन पदाधिकारी तथा सदस्य (सूचीसहित)


काठमाडौं, चैत २६ । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सहकोषाध्यक्षमा सुभाष गोयल, कोषध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ। संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दय व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताउनु भयो।

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गर्नुभयो । उहाँले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । ‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ मरासिनीले भन्नुभयो, ‘नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’

संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले सरकारले कस्मेटिक वस्तुलाई दैनिक उपभोग्य वस्तुका रूपमा मान्यता दिनुपर्ने माग गर्नुभयो । राज्यले अझै पनि कस्मेटिक व्यवसायलाई महत्व नदिएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीले महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले सम्पूर्ण वस्तुलाई आयात प्रतिस्थापन गर्न खोजेर सरकारको फरक ढंगको रवैया प्रस्तुत गरेको आरोप लगाउनु भयो । उहाँनले सरकारको यो निर्णयले सौन्दर्य व्यवसायमा आबद्ध व्यवसायी मारमा पर्ने उल्लेख गर्नुभयो ।

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले कस्मेटिक विलासिताको वस्तु मात्र नभएर दैनिक उपभोग्यको वस्तु भइसकेको बताउनु भयो । ‘कस्मेटिक विलासिता मात्र होइन, दैनिक उपभोग्य वस्तु भइसक्यो । महिलाले मात्र होइन, पुरुषले पनि जहाँसुकै जुनबेला पनि सौन्दर्यका साधन प्रयोग गर्न थालेका छन्,’ उहाँले भन्नुभयो । पछिल्लो समय कस्मेटिक व्यवसायी केन्द्र, प्रदेश र स्थानीय तीन तहका सरकार मात्र होइन, प्रहरीका साथै अन्य समूहबाट पनि पीडित भएको उहाँको भनाइ थियो ।

जडीबुटी अन्वेषक धर्मराज पौडेलले सौन्दर्य प्रशाधनमा प्रयोग हुने लाखौं जडीबुटी खेर गएको उल्लेख गर्दै स्वदेशी जडीबुटीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । पौडेलले बाहिरी सौन्दर्य मात्र होइन, आन्तरिक सौन्दर्यमा जोड दिनुपर्ने बताउँदै विदेशबाट कस्मेटिक वस्तु आयात गर्न नहुने धारणा पनि राख्नुभएको थियो । नेपाल कस्मेटिक व्यवसायी संघ २०६९ मा स्थापना भएको हो । देशका ७७ वटै जिल्लामा साना साना लगानीमा कस्मेटिक व्यवसाय खोलेर संघको स्थापना भएको हो ।