जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार ०८:४१

एमालेबाट धमाधम उम्मेदवार सिफारिस : भरतपुरमा सुवेदी, ललितपुरमा व्यञ्जनकार


काठमाडौं, चैत्र २८ । पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ । एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ ।

ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो । यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको नाम सिफारिस भएको छ ।

वाग्मती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो । यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम सिफारिस गरेको हो ।चौधरीसहित उपमेयर लक्ष्मी गौतम, उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँ, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ ।

एमालेले यही महिनाभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन दिएको थियो ।गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिस जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ ।एमालेले उम्मेदवारको नाम सिफारिसको अन्तिम मिति पर्सि ३० चैतसम्मका लागि तोकेको छ ।