जनता टाइम्स

२९ चैत्र २०७८, मंगलवार २२:५२

प्रधानमन्त्रीलाई महेश बस्नेतको प्रश्न – केपी ओलीले ल्याएको रेल भारतमा गएर उद्घाटन गर्दा लाज लागेन ?


काठमाडौं, चैत्र २९ । नेकपा एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले नेकपा एमाले प्रति युवाको आकर्षण व्यापक बढेको बताउनुभएको छ ।

नेकपा एमाले ललितपुरले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै नेता बस्नेतले केपी ओली प्रति नेपाली जनताको आशा र भरोसा रहेको बताउनुभयो । त्यसमा पनि युवाको ओली प्रति ठुलो विश्वास र भरोसा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले विकास र समृद्धिको बाहक बनेको उहाँले दाबी गर्नुभयो । सडक, पुल, स्वास्थ्य, शिक्षा, खानेपानी सामाजिक विकास हरेक क्षेत्रमा एमालेले व्यापक काम गरेको बस्नेतले बताउनुभयो ।

केपी ओलीले ल्याएको रेल भारतमा गएर उद्घाटन गर्दा शेरबहादुर देउवालाई लाज लाग्नु पर्ने बस्नेतले टिप्पणी गर्नुभयो । ‘एमालेले गरेका कामको उद्घाटन आज शेरबहादुरले गर्दै हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

एमालेले तयार पारेको जग्गाधनी पुर्जा चितवन पुगेर रेणु दाहालका बा प्रचण्डले बाँडेको पनि उहाँले बताउनुभयो । यस्ता काम गर्दा पनि गठबन्धनका नेतालाई कुनै लज्जा बोध नभएको भन्दै बस्नेतले आलोचना गर्नुभयो ।

सत्ता गठबन्धन अहिले अन्तिम भोज खाँदै गरेको उहाँले बताउनुभयो । छोरीलाई मेयर बनाउन र बुहारीलाई मन्त्री बनाउन प्रचण्डले पार्टी फुटाएको उहाँले दाबी गर्नुभयो ।