जनता टाइम्स

३० चैत्र २०७८, बुधबार ०८:२६

काठमाडौँको फोहोर उठ्न अझै अनिश्चित


काठमाडौँ, चैत ३० । एक सातादेखि थुप्रिएको फोहोर आगामी केही दिनसम्म सफा हुन सक्ने अवस्था छैन । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार तीनपिप्लेमा स्थानीयले फोहोरका कन्टेनरलाई सिसडोलस्थित डम्पिङ साइटमा लैजान दिएका छैनन् ।राति २ देखि बिहान ८ बजेसम्म मात्र केही कन्टेनर सिसडोल लैजाने गरिएको छ ।

बिहान ८ बजेपछि पुगेका कन्टेनर तीनपिप्लेबाट फर्काउने गरिएको छ । आइतबार र सोमबार ३४० कन्टेनर फोहोर सिसडोल लैजान सकिएको छ । काठमाडौँ महानगरपालिकाको भित्री सहरको फोहोर टेकुमा व्यवस्थापन गरिएको छ । तीनपिप्ले भएर आवागमन गर्ने निर्माण सामग्री बोकेका ट्रकले पनि फोहोरका कन्टेनर आवागमनमा असहजता गरिरहेको राईले बताउनुभयो ।काठमाडौँ महानगरपालिकाका अनुसार प्रहरीसमेतको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने गरी कार्य भइरहेको छ तर स्थानीयले सिसडोल पुग्ने विभिन्न स्थानमा अवरोध गरिरहेका छन् ।

तीनपिप्लेमा स्थानीयले बाटो मर्मतको माग गरिरहेका छन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–छहरे–तीनपिप्ले सडक खण्ड विगत आठ वर्षदेखि मर्मत नभएको भन्दै स्थानीय संयुक्त सङ्घर्ष समितिले फोहोरका कन्टेनर सिसडोल लैजान दिएको छैन । सङ्घर्ष समितिका अध्यक्ष भवनाथ गजुरेलले बाटो बिग्रिएर वर्षामा हिलो र सुक्खामा धुलो उडेर स्थानीयलाई रहन बस्न कठिन भएकाले फोहोरका कन्टेनर जान नदिइएको बताउनुभयो ।