जनता टाइम्स

३० चैत्र २०७८, बुधबार १७:१८

पोखरा महानगरमा माधव समुहलाई मेयर दिन नसक्ने देउवाको निश्कर्ष, गठबन्धनमा छलफल नै नभएको जनाउ


काठमाडौं, चैत ३० । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताउनु भयो । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गर्नुभएको छ । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिनुभएको छ । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

उहाँले पोखरामा एक्लै चुनाव जित्ने आधार खोज्नुभएको थियो । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?’ देउवाले भन्नुभयो, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’

देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेको देउवाले बताएका थिए ।