जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १६:२४

संखुवासभामा माओवादी बढी भाग खोजेपछि कांग्रेसले भन्यो – गठबन्धन टुट्यो


संखुवासभा, बैशाख २ । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।

शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भन्नुभयो माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको छ । ‘माओवादीसँग अब गठबन्धन हुन्न । तर बाँकी दलहरुसँग छलफल हुन्छ’, खड्काले भन्नुभयो। माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उहाँले बताउनुभयो । ‘कांग्रेसले जितेको ठाउँमा पनि दावी गर्नुभयो । त्यो भनेको गठबन्धन नगर्ने भन्ने नै भयो’, खड्का भन्नुहुन्छ । माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताउनुभयो । ‘कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति जुटेन् ।

तर औपचारिक रुपमै गठबन्धन टुटेको निष्कर्षमा भने हामी पुगेका छैनौं’, कार्की भन्नुभयो। कांग्रेस नेताहरुले भने सहमति जुटाउन बसेको बैठकबाटै माओवादी केन्द्र गठबन्धन नरहने भन्दै निस्केकाले अब छलफल नहुने बताउनुभयो । गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।