जनता टाइम्स

३ बैशाख २०७९, शनिबार १३:११

फुट्यो गठबन्धन: जनकपुरधाममा पनि कांग्रेसले तालमेल नगर्ने


जनकपुरधाम, बैशाख ३ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि जनकपुरमा नेपाली कांग्रेसले नगर्ने निर्णय गरेको छ ।कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाक्ँ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गर्नुभएको थियो ।

मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । र, उहाँलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ । तर, कांग्रेसले लालकिशोर आवद्ध दलमात्र नभई अन्य कुनै दलसँग गठबन्धन नगरी आफैं चुनाव लड्ने बताएको छ ।नगर सभापति मनोज साह उपमहानगरपालिकाको २५ वटै वडाले पनि गठबन्धन गर्न नहुनेमा जोड् दिएको बताउनुभयो ।त्यो ग्रास रुटको म्यान्डेड त्यसलाई मानेर हमी अघि बढ्छौं’ साहले भन्नुभयो, ‘नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय नै गरेको छ ।

यस्तो अवस्थामा हामी गठबन्धनमा जान्नौं ।’आफूहरुका नेता विमलेन्द्र निधि, प्रदेशका मन्त्री रामसरोज यादव, जिल्ला सभापति योगनारायण पंजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव, दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको सभापति साहले बताउनुभयो । कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने र अन्यथा नमान्ने उहाँको भनाइ छ । केन्द्रले गठबन्धन मान्न भन्दा आफूहरुले बहिष्कार गर्ने बताउँदै उहाँले यसमा सबै जना एकमत रहेको बताउनुभयो । मधेश प्रदेशको पर्सा जिल्लामा यसअघि नै कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ ।