जनता टाइम्स

३ बैशाख २०७९, शनिबार १३:४७

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए


किभ, ३ वैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताउनुभएको छ । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उहाँले बताउनुभयो । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उहाँले भन्नुभयो ।

युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उहाँको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।