जनता टाइम्स

३ बैशाख २०७९, शनिबार १६:२१

सत्ताको लोभमा देउवाले कांग्रेस सिध्याउन लागेपछि साधारण सदस्य समेत नरहने गरी भरतपुरका ५० नेताले दिए राजीनामा


चितवन, ३ बैशाख । भरतपुरका ५० जना कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी माओवादीकरण भएको भन्दै नेपाली कांग्रेस पार्टीबाट सामुहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो । पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले जानकारी दिनुभयो । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उहाँले आरोप लगाउनुभयो ।

पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने सुनाउनुभयो । उनिहरुले पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको आरोप पनि लगाउनुभयो ।