जनता टाइम्स

३ बैशाख २०७९, शनिबार २०:५८

स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा : काँग्रेस


काठमाडौं, बैशाख ३ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको छ ।

एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाई छ ।

आज पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शिर्ष तहमा सहमती गरिएको स्पष्ट पार्नु भयो । कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दावी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताउनु भयो ।

प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने स्मरण गराउनु भयो ।

त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उहाँले स्थानीय गठबन्धन दलहरुलाई सचेत गराउनु भयो । प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भईरहेको छ ।