जनता टाइम्स

२६ असार २०७६, बिहीबार १०:४२

जनपक्षीय निर्णय लिन समग्र कामको समीक्षा गर्दै ओली सरकार : भावी योजना ल्याउन मन्त्रीलाई निर्देशन


काठमाडौं, असार २६

सरकारले चालु आर्थिक वर्षमा गरेका समग्र कामको समिक्षा गर्न शुरु गरेको छ । भएका राम्रा काम, हुने नसकेका काम, त्यसमा पुगेका अवरोध लगायतका विषयमा समिक्षा हुन लागेको हो । साथै आउदा बर्षमा कसरी सुधार गरेर लैजाने भन्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहान ११ बजे हुने समिक्षात्मक छलफलमा सबै मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा बैठकमा छलफल हुनेछ । यसैअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमन्त्रीहरुलाई भावी योजना लिएर आउन निर्देशन दिईसक्नु भएको छ । बैठकमा सबैमन्त्रीहरुले आ–आफ्ना मन्त्रालयले गरेका काम र गर्न बाँकी रहेका कामका विषयमा जानकारी समेत गराउने छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई कसरी साकार पार्न सकिन्छ भनेर थप योजना बनाउने बताइएको छ । चालु आर्थिक वर्षलाई आधारवर्ष मानेको सरकारले आउदो बर्षलाई उत्साह र उमंगको वर्ष बनाउने गरी काम थाल्ने बताउदै आएको छ । यही विषयमा विशेषगरी जोड रहने एक मन्त्रीले जानकारी दिनुभएको छ । सरकारले यो वर्ष गरेको कामको समिक्षा र राष्ट्रिय प्राथमिकता प्राप्त ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँबरले जानकारी दिनुभयो ।

यस्तै जनताका सेवासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने छ । चालु आर्थिक वर्षलाई संघियता कार्यान्वयनको वर्षका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षबाट विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै आएको छ ।