जनता टाइम्स

२६ असार २०७६, बिहीबार ११:३५

गोवामा कांग्रेसलाई अस्तित्व जोगाउने संकट, १७ विधायकबाट घटेर ५ मा आईपुग्यो


काठमाडौं, असार २६

लोकसभा चुनावमा हारेको पीडा निको हुन नपाउँदै कांग्रेसलाई राज्यहरूमा पनि एकपछि अर्को झट्का लागिरहेको छ । कर्नाटकमा कांग्रेस र जेडीएसको १३ महिना पुरानो गठबन्धन सरकार विद्रोही विधायकहरूका कारण फुट्न लागेको छ । सन् २०१७ मा गोवा विधानसभा चुनावमा सबभन्दा ठूलो दल बनेको कांग्रेस त्यहाँ अस्तित्व बचाउन संघर्ष गरिरहेको छ । उसका विधायकहरू १७ बाट घटेर पाँचमा आइपुगेका छन् ।

कर्नाटकमा बुधवार कांग्रेसका दुई अन्य विधायकले विभानसभा सदस्यता त्यागेका छन् । अहिलेसम्म कांग्रेसका १३ र जनता दल (सेक्युलर) का तीन विधायकले राजीनामा दिइसकेका छन् । गठबन्धन सरकारले मन्त्रीहरूलाई राजीनामा दिन लगाएर विधायकहरूलाई फकाउन खोजेको भए पनि उनीहरूले टेरेनन् ।

विद्रोही विधायकहरूको राजीनामा स्वीकार भएमा कुमारास्वामी सरकार विघटन हुने पक्का छ । सभामुख रमेश कुमारले राजीनामामाथिको निर्णयमा ढिलाइ गरेर विद्रोही विधायकलाई फकाउन समय दिएका छन् । तर उनले पनि निर्णय ढिलोचाँडो गर्नैपर्ने हुन्थे । विद्रोही विधायकले राजीनामा स्वीकार गर्नमा भएको ढिलाइविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । बिहीवार त्यसमा सुनुवाइ हुँदैछ ।

दुई वर्षअघि कांग्रेस गोवामा सबभन्दा ठूलो दलबने पनि सरकार बनाउन चुकेको थियो । चालीस सदस्यीय विधानसभामा १७ सीट जिते पनि कांग्रेस जम्मा १३ सीट जित्ने भाजपासँग रणनीतिमा मात खाएको थियो । अब २९ महिनापछि कांग्रेसले अस्तित्व बचाउन नै संघर्ष गर्नुपरेको छ । बुधवार उसका १५ मध्ये १० जना छुट्टिने फैसला गरे । उनीहरूले बुधवार स्पीकरसँग भेटघाट गरे र विधानसभामा कांग्रेसभन्दा अलग सीट व्यवस्थापन गराउन माग गरे । असार ३० गतेबाट विधानसभाको सत्र शुरू हुँदैछ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले कांग्रेसका १० विधायक भाजपामा प्रवेश गर्ने बताए । यसो भएमा भाजपाको संख्या १७ बाट २७ पुग्नेछ । अनि १५ बाट १० विधायक हिँड्दा दुईतिहाइभन्दा बढी विधायक चोइटिनु हो । त्यसो हुँदा दलपरिवर्तनविरोधी कानून लागू हुँदैन । कांग्रेससँग अब जम्मा पाँच विधेयक छन् जसमध्ये चारजना त पूर्वमुख्यमन्त्री छन् ।

गत मार्च महिनामा भाजपाले गोवामा आफ्नो सहयोगी महाराष्ट्रवादी गोमान्तक पार्टीका तीन विधायकमध्ये दुईलाई आफ्नो पार्टीमा ल्याएको थियो ।