जनता टाइम्स

४ बैशाख २०७९, आईतवार १६:१२

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थी आन्दोलित


चितवन, ४ बैशाख । अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुको आरोप छ । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आज केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । ‘इन्सपेक्टर प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन् । उता कति जना घाइते भए जानकारी आएको छैन,’ उहाँले भन्नुभयो ।

आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको र घटनाको विषयमा थप अनुसन्धान गरिने उहाँले बताउनुभयो । विद्यार्थीका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन दुई पक्षबीच छलफल हुँदै आएको थियो ।