भक्तपुर, ४ वैशाख । भक्तपुर नगर आइतबार दिनभर बाजागाजाले गुन्जायमान बन्यो । बिस्का जात्राको आठौं दिन आज भक्तपुरमा भएको सगुन जात्राका कारण दिनभर बाजागाजाले गुन्जायमान बनेको हो । स्थानीय नेपाल भाषामा यस जात्रालाई द्यो स्वगं वियजु जात्रा भनिन्छ । बिस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख ४ गते यहाँ यसरी नै जात्रा हुने गर्छ ।
बाजागाजा टोलीले दिनभर नगर परिक्रमा गरेका थिए । सयौं बाजागाजाको टोली नगरका शक्तिपीठमा बाजा बजाई पुगेका थिए । उनीहरूको साथमा महिलाहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गर्छन् । त्यस क्रममा ती महिलाहरूले देवी देवतालाई सगुन दिन्छन् । लामो लस्कर र हजारौंको सहभागिता रहने भएकोले सानो नगरका बजारभरि दिनभर बाजागाजा अनि जात्रालु भेटिन्छन् ।
जात्राको क्रममा बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःको हुन निस्केको थियो । घर–घरबाट महिलाहरू परम्परागत हाकुपटासी लगाएर बाहिरिएका थिए । पुरुष भने बाजागाजा साथ आएका थिए । यही कारणले दिनभर नगर बाजागाजाले गुन्जायमान भएको थियो ।
बाजागाजाका मात्रै सयौं टोलीले नगर परिक्रमा गरेको थियो भने हजारौं जात्रालुहरूले सगुन चढाएका थिए । देवी देवताहरूलाई सगुन पूजा गर्न आ–आफ्ना द्योःछें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राकाक्रममा सहभागीहरूले देवी देवताहरूलाई आ–आफ्ना गच्छे अनुसारका परिकार चढाएका थिए । कसैले अण्डा, कसैले बिस्कुट, कसैले चोकोपन त कसैले के चढाएका थिए ।
पछिल्ला वर्षहरू बिस्कुट, चोकोपनलगायतका बजारमा पाइने खाद्य वस्तु चढाउने प्रवृत्ति बढी छ । यो पूजा प्राचीन कालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ । बिस्काः जात्राका क्रममा विघ्न बाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रूपमा लिने गरेको वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्