जनता टाइम्स

२६ असार २०७६, बिहीबार १२:२४

बिषादीको बिषयमा झुक्याउनेमाथि कार्वाही गर्ने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं, असार २६
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै कठोर कदम चाल्ने संकेत गर्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा भारतबाट आएको पत्रलाई गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले छानविनपछि कार्वाहीको प्रष्ट संकेत दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनु भयो । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । बिषादी प्रकरणमा भारतीय दुतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्र कृषि तथा पशुपंक्षी मन्त्रालय हुँदै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुग्दासमेत गुपचुप राखिएको थियो । सो पत्रको बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदाश बैरागीदेखि कृषि सचिव र बाणिज्यसचिवसम्म जानकार भएको पाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीकै कतिपय सल्लाहकार र सहयोगी पनि दुतावासको पत्रबारे जानकार रहेको पाइएको छ । आफ्नै सल्लाहकारदेखि मन्त्री र सचिवसम्मले पत्रबारे जानकारी नदिएपछि प्रधानमन्त्री ओलीले आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै माफी माग्नुभएको हो । नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन भने पूरा हुन नदिने घोषणा गर्नुभयो ।

यद्यपी प्रधानमन्त्री ओलीले बिषादी प्रकरणमा जानीबुझी लुकाएको सूचनासमेत पाउनु भएको छ । तीन तीन वटा मन्त्रालयमा पत्राचार हुँदा प्रधानमन्त्रीलाई नै बेखवर राख्ने काम जानीबुझी र सरकारबिरुद्ध जनता भडकाउनका लागि भएको सूचना प्रधानमन्त्रीसम्म पुगेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले भन्सार बिन्दुमा परीक्षण संभव छैन भन्दा जान्दाजान्दै सरकारबिरुद्ध भडकाउन सो ब्यवस्था गर्ने र सचिवहरुले भारतीय पत्रबारे जानकारी दिँदा पनि प्रधानमन्त्रीलाई जानकारी नदिने काम गरेको तथ्य यसअघि नै खुलिसकेको छ ।