काठमाडौं, बैशाख ५ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको व्यापक प्रचारप्रसार गर्न प्रचार कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी र मतदाताहरूको पुलको रूपमा प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने भन्दै गुरूङले एमालेविरूद्ध चौतर्फी घेराबन्दी र भ्रामक प्रचार भइरहँदा पनि प्रेस चौतारीले त्यसको खण्डन गर्न नसकेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजना गरेको प्रचार भेलालाई सम्बोधन गर्दै पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरूङले प्रचार कार्यकर्ताहरूले पार्टीविरूद्धका भ्रामक प्रचारहरूको खण्डन गर्दै जनतालाई सही सूचना दिनुपर्ने बताउनुभयो । उहाँले एमाले विरूद्धका गलत र भ्रामक प्रचारहरूलाई मेटाउन प्रचार कार्यकर्ताहरूले पनि नसकेको भन्दै अब त्यस्ता भ्रामक प्रचारलाई मेट्ने गरी लाग्न आग्रह गर्नूभयो । समृद्ध नेपाल, सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम गरेको छ छैन भनेर खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरूको रहेको उहाँले बताउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली एमालेको नारा हो, नारामा भनिएजस्तो काम भएको छ कि छैन भनेर जनताले कसरी थाहा पाउने ? जनतालाई त्यसबारेमा थाहा दिने भनेको प्रचार कार्यकर्ताले हो,’ उहाँले भन्नुभयो ,‘एमालेले धेरै काम गरेको छ तर जनतालाई थाहा दिएको खोई ?’एमालेको संगठन र कार्यशैलीप्रति अरू राजनीतिक दल र संघ/संगठनहरूले समेत ईर्श्या गर्ने गरेको उल्लेख गर्दै गुरूङले एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने बताउनुभयो । उहाँले प्रविधिको युगमा एमाले र प्रचार कार्यकर्ताहरू प्रविधिमैत्री हुनुपर्ने भन्दै प्रविधिमैत्री हुन नसके पार्टीले गरेका कामहरूको प्रचार प्रसार गर्न पनि नसकिने बताउनुभयो ।
अहिलेको जमाना प्रचारको जमाना हो, अहिलेको जमाना बोल्न जान्नेको पिठो बिक्ने र बोल्न नजान्नेको चामल पनि नबिक्ने जमाना हो, प्रचार नहुँदा एमालेको बासमतीको चामल पनि बिकेको छैन यहाँ सडेको पिठो बिक्री गरिरहेका छन्,’ गुरूङले भन्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटब्युरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे लगायतले निर्वाचनको बेला प्रचारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरूको सहभागिता रहेको प्रचार भेलाले ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ।













प्रतिक्रिया दिनुहोस्