जनता टाइम्स

२६ असार २०७६, बिहीबार १३:१६

अमेरिकाको मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा


वासिङ्टन, असार २६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ । स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिनुभयो ।

राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नवीन प्रविधिको खोजी गर्नु पनि रहेको छ । मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिको आदेशले जोड दिएको छ ।

राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिनुभयो । संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मृगौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणको मृगौला रोगी रहेका छन् ।

करिब एक लाख अमेरिकीहरु मृगौला प्रत्यारोपणको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्दछन् । अमेरिकी ह्वाइट हाउसको विवरण अनुसार डायलासिस सेवा शुरु गरेका आधाभन्दा बढीको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ ।