जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १८:३७

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल


काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आज चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी रहनुभएको थियो ।

छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशकले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।