काठमाडौं, ११ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट आइतबार उम्मेदवारी दर्ता गराएकी अस्मिता थापा प्रदेशकै कान्छी उम्मेदवार बन्नुभएको छ । २६ वर्षीया थापाले यसमस्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित गएर उम्मेदवारी दर्ता गर्नुभएको छ ।
लिखुमा एमालेले अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाएको हो । एमालेका प्रदेश सचिव चिन्तन पाठकले पार्टीबाट पालिका प्रमुख र उपप्रमुखमा निर्णय भएकामध्ये थापा सबैभन्दा कम उमेरकी उम्मेदवार रहेको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष शान्ता ढुंगेललगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशकै कान्छी उम्मेदवार थापाको प्रस्ताव हालका गाउँपालिका अध्यक्षकी पत्नी यक्षकुमारी पौडेल र समर्थक प्रदेश कमिटी सदस्य लोचन बस्नेत रहेका छन् ।
आइतबार पहिलो दिन लिखु गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवारको मात्र उम्मेदवारी मनोनयन परेको छ ।अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेकी थापा एमालेको ओखलढुंगा जिल्ला कमिटी सदस्य हुनुहु्न्छ । पछिल्लो समय विद्यार्थी राजनीतिसँगै गाउँमा सामाजिक तथा राजनीतिक गतिबिधिमा सक्रिय थापालाई एमालेको गाउँपालिका कमिटीले उपाध्यक्ष सिफारिस गरेको थियो ।उम्मेदवारी दर्ता गरेपछि थापाले स्थानीय तहको पहिलो कार्यकाल नीतिगत संरचना निर्माणमा सफल भएको र अग्रज जनप्रतिनिधिले थालेका कामलाई पूर्णता दिँदै गाउँपालिकालाई कृषि र पर्यटनमैत्री बनाएर आत्मनिर्भरतातर्फ लैजान आफूहरुले पहल गर्ने बताउनुभयो ।
थापाले युवा महिला हुनुको नाताले समावेशी विकासको साथै महिलालाई गाउँपालिकाकै सहयोग र समन्वयमा उत्पादन तथा रोजगारीमा जोडेर आर्थिक रुपमा आत्मनिर्भर बनाउने विशेष योजना आफूसँग रहेको दावी गनुभयो । उहाँले गाउँमा अझै पनि महिलामाथि हुने विभेद र आर्थिक परनिर्भरताको अन्त्यका लागि स्थानीय सरकारले विशेष कार्यक्रम तथा उद्यमशीलताका साथै रोजगारीका अवसरमा प्राथमिकता दिन सकिने बताउनुभयो। थप विषय प्रतिबद्धतापत्रमा समेटिने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्