जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार ०८:१३

ललितपुरमा गठबन्धनबाट निकालियो एकीकृत समाजवादी


ललितपुर, बैशाख १२ । नेकपा एकीकृत समाजवादीले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अघि बढेको भन्ददै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।

पार्टीको सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताउनु भयो । बेलुकी ५ बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिनुभयो ।

‘हाम्रो प्रतिनिधित्व नै शून्य हुनेगरी कांग्रेस–माओवादी अघि बढे’, तिमिल्सिनाले भन्नुभयो ‘हामी पनि एक्लै निर्वाचनमा जाने तयारीमा छौं । सबै स्थानीय तहको सबै पदमा हाम्रो उम्मेदवारी रहन्छ ।’

ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ । तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताउनु भयो ।

कांग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुनेगरी समझदारी गर्नुभएको थियो । त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।