जनता टाइम्स

२६ असार २०७६, बिहीबार १७:२१

यी हुन प्रधानमन्त्री ओली झुक्याउने षड्यन्त्रकारी


दुतावासले परराष्ट्र मन्त्रालयमा पत्र लेख्यो । दुतावासले लेखेको पत्र पुग्यो परराष्ट्र मन्त्रालयस्थित साउथ एशियन डिभिजन प्रमुख यज्ञराज हमालको टेबुलमा । हमालले तत्कालै परराष्ट्र सचिव शंकरदाश बैरागीलाई पत्रबारे जानकारी गराउनु भयो । परराष्ट्र सचिव बैरागीले यस बिषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई जानकारी दिए कि दिएनन भन्ने बिषयमा भने परराष्ट्र मन्त्रालयकै पदाधिकारी बेखवर छन

 

काठमाडौं, असार २६

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्सार बिन्दुमै बिषादी परीक्षणको निर्णय कार्यान्वयन र त्यसपछि देखिएको समस्याको बिषयमा आफूलाई गुमराहमा राख्ने मात्र नभई झुक्याउने काम भएको तथ्य सार्वजनिक गरेसँगै सरकारबिरुद्ध सरकारी संयन्त्र नै खुलेयाम लागेको रहस्य बाहिर आएको छ । बिषादी प्रकरण र भारतको पत्रको बिषयमा आफूलाई झुक्याउनेप्रति प्रधानमन्त्री ओलीले कठोर कदम चाल्ने घोषणा पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलें, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु । को हो त प्रधानमन्त्री ओलीलाई झुक्याउने सरकारी षडयन्त्रकारी ? यस बिषयमा अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, कृषि तथा पशुपंन्छी बिकाश मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा ठुलै बहश भएको छ । सत्तारुढ दल नेकपा र बालुवाटारभित्र पनि यस बिषयले निकै गम्भीर रुप लिएको छ । प्रधानमन्त्री ओलीले कठोर कदम चाल्ने संकेतसहित आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिइसक्नु भएको छ ।

यस बिषयमा प्रधानमन्त्री ओली आफैले चासो लिएर छानविन अघि बढेपछि बिस्तारै तथ्यहरु बाहिर आउन थालेको छ । छानविनका क्रममा फेला परेको तथ्यअनुसार भारतबाट आयोत हुने तरकारी तथा फलफूल भन्सार बिन्दुमै रोकिएपछि नेपालस्थित भारतीय दुतावासले कुटनीतिक पहल लियो । दुतावासले सम्बन्धित मन्त्रालयमा पुगेर भन्सार बिन्दुमा परीक्षण गर्ने भौतिक पुर्वाधार नभएकोले पुरानै ब्यवस्थाअनुसार गर्न सुझायो । त्यही क्रममा दुतावासले परराष्ट्र मन्त्रालयमा पत्र लेख्यो । दुतावासले लेखेको पत्र पुग्यो परराष्ट्र मन्त्रालयस्थित साउथ एशियन डिभिजन प्रमुख यज्ञराज हमालको टेबुलमा । हमालले तत्कालै परराष्ट्र सचिव शंकरदाश बैरागीलाई पत्रबारे जानकारी गराउनु भयो ।

परराष्ट्र सचिव बैरागीले यस बिषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई जानकारी दिए कि दिएनन भन्ने बिषयमा भने परराष्ट्र मन्त्रालयकै पदाधिकारी बेखवर छन । यसअघि मन्त्री ज्ञवालीसँगै हरेक बिषय प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मुख्यसचिव लोकदर्शन रेग्मीलाई जानकारी गराउने बैरागीले भारतको यति ठुलो चासोसहित भएको कुटनीतिक पत्रलाई जानकारी दिए नदिएको बिषयमा मन्त्री ज्ञवालीका सचिवालय अनबिज्ञ जस्तै देखिएको छ । मन्त्रालयका अन्य अधिकारी पनि जानकारी अनिवार्य गराउनु पर्ने बिषय भएपनि आफूहरु अनबिज्ञ रहेको बताउँछन ।

परराष्ट्र मन्त्रालयबाट कृषि तथा पशुपंन्छी मन्त्रालयमा पत्र पुग्यो । कृषि मन्त्रालयका सचिव प्रकाश माथेमाले मन्त्री चक्रपाणि खनाललाई जानकारी गराउनु भयो । मन्त्रीले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्र पठाउन निर्देशन दिई फोटोकपी गरेर आफ्नो फाइलमा पत्र राख्नुभयो । कृषिबाट आपुर्ति मन्त्रालयमा पुगेका पत्र मन्त्री मातृका यादवलाई जानकारी गराइयो । यादवले सम्बन्धित मन्त्रालयले पठाएपछि कार्यान्वयन गर्ने भन्दै आफ्नो फाइलमा फोटोकपी गरी राख्नुभयो । बाणिज्य सचिव केदार अधिकारीले आफ्नो फाइलमा पत्र राखिदिए ।

यद्यपी तीनै जना सचिवले मुख्यसचिव रेग्मीलाई यस बिषयमा जानकारी गराएको आफू निकट कर्मचारीसँग चुहाएका छन । बाणिज्यबाट सो कार्यान्वयन गर्ने निकाय अर्थ मन्त्रालयसम्म भने आउँदै आएन । भारतीय दुतावासको पत्र आएको झण्डै एक साता बितिसक्दा र तीन तीन ओटा मन्त्रालयमा पुग्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै जानकारी दिने काम भएन । उहाँका सल्लाहकार र सहयोगी टीमले यो बिषयमा बुझ्दा पनि बुझेन । बजारमा भारतको दवाव आयो भनेर हल्ला चल्दासमेत प्रधानमन्त्रीको सहयोगी टीमले खासै चासो दिएन । परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले त पनि यस बिषयमा कुनै सुईको समेत पाउनु भएन ।

तयारी नपुगेको र भौतिक पुर्वाधार नभएको जनाई सरकारले भन्सार बिन्दुमै बिषादी परीक्षणको निर्णय केही समयको लागि स्थगित गर्यो । सरकारको यो निर्णयसँगै चौतर्फी आलोचना भयो । यही क्रममा प्रधानमन्त्रीले नेकपाको संसदीय दलमा भारतको पत्रबारे आफू जानकार नभएको र पत्र नआएको भन्दै तयारी नपुगेकोले परीक्षण केही समयका लागि स्थगित गरिएको जानकारी दिनुभयो । तर जव पत्र सार्वजनिक भयो, प्रधानमन्त्री चकित पर्नुभयो । गत सोमवारको मन्त्रिपरिषद बैठकमा जव प्रधानमन्त्री ओलीले भारतीय दुतावासबाट ध्यानाकर्षणसहित पत्र आएको बिषय के हो भन्दा मन्त्रीहरुको फाइलमा सो पत्र देखियो ।

त्यसअघि नै मुख्यसचिव लोकदर्शन रेग्मीसहितको टीमले भारतको पत्र मिडियासम्म पुगाइसकेको थियो । मन्त्रीहरुको फाइलमा मिडियामा आएको सोही पत्रको फोटोकपी मन्त्रीहरुसँग रहेछ । सोमवार दिउसो चार बजे बोलाइएको बैठक सो पत्रपछि तनावपुर्ण बन्यो । प्रधानमन्त्री ओलीले चार बजे बोलाइएको बैठकमा आफूलाई मन लागेको समयमा आउने भन्दै मन्त्रीहरुलाई आइन्दा यस्तो नहोस भन्दै सचेत गराउनु भयो । ‘कतिपय मन्त्रीहरु त ६ बजे आउनु भयो, प्रधानमन्त्री निकै रिसाएर भोलि बिहान ४ बजे राखौं कि सात बजे ? भन्ने प्रश्न गर्दै बिहान ७ बजे बस्ने निर्णय सुनाएर हिडनुभयो, मन्त्रीहरुले त्यसपछि बल्ल भारतले लेखेको पत्र देखाउनु भयो,’ एक मन्त्रीले भने । सो पत्रको बिषयले प्रधानमन्त्री ओली निकै गम्भीर बन्नुभएको छ । त्यसो त भन्सार बिन्दुमै परीक्षणको शब्दजाल मुख्यसचिव रेग्मीले नै घुसाएको तथ्य खुलिसकेको छ ।

मुख्यसचिव रेग्मीले गरे यस्तो षडयन्त्र

मुख्यसचिव रेग्मीले नै सरकारलाई जनतामा बदनाम गराएर चारैतिर घेरावन्दीमा पार्ने ग्य्राण्डडिजाइन अन्तर्गत भन्सार बिन्दुमै फलफूल तथा तरकारीको बिषादी परीक्षणको सूचना प्रकाशित गरे । राजपत्रमा सूचना प्रकाशित गर्नुअगावै कानून निर्माणकै चरणमा अर्थसचिव राजन खनाल र कृषि सचिव प्रकाश माथेमाले भन्सार बिन्दुमा बिषादी परीक्षणको पूर्वधार नरहेको जनाई असहमति राख्नुभएको थियो ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहितको सो बैठकमा दुवै सचिवले बिषादी परीक्षणपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने ब्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । मुलुकको यथार्थाअनुसार काम गर्न दिइएको सुझावअनुसार अन्तिम रुप दिने भन्दै उठेका मुख्यसचिव रेग्मीले बाणिज्य सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी भन्सार बिन्दुमै परीक्षण गर्ने शब्द घुसाएर सरकारबिरुद्ध अस्त्र प्रयोग गरेका हुन ।

‘बिषादी परीक्षण प्रयोगशाला छ तर भन्सार बिन्दुमा छैन, परीक्षण गर्ने ब्यवस्था राखौं, भन्सार बिन्दुमै परीक्षण भन्दा अहिले संभव हुन्न, तरकार कुहिएर खेर जान्छ,’ सो बैठकमा अर्थसचिव र कृषि सचिवको भनाई थियो । तर जवाफमा मुख्यसचिव रेग्मी र बाणिज्यसचिव अधिकारीले ‘हामीलाई किन त्यस्को चिन्ता ? कुहिएर जान्छ, त्यसै गाडछन भन्दै कडकिनु भयो । मन्त्रिपरिषदको निर्णय प्रमाणिकरणको जिम्मा पाएका मुख्यसचिव रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध जनता भडकाउनकै लागि भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था राखिदिएको ती एक सचिवले बताए ।

गत सोमवारको मन्त्रिपरिषद बैठकमा भने रेग्मीले भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था कहाँ छ भन्दै प्रधानमन्त्री ओलीलाई भ्रम दिन खोजेका थिए । तर एक मन्त्रीले यो के हो भन्दै प्रश्न उठाएपछि रेग्मीको बदमासी खुलेको थियो । यता भन्सारमा तरकारी र फलफूल रोकिएपछि नेपालस्थित भारतीय दुतावासले गराएको ध्यानाकर्षण पत्रसमेत गुपचुप राखी प्रधानमन्त्रीलाई जानकारी नदिइएको तथ्य खुलेको छ ।

बिषादी परीक्षण प्रयोगशाला छ तर भन्सार बिन्दुमा छैन, परीक्षण गर्ने ब्यवस्था राखौं, भन्सार बिन्दुमै परीक्षण भन्दा अहिले संभव हुन्न, तरकार कुहिएर खेर जान्छ,’ सो बैठकमा अर्थसचिव र कृषि सचिवको भनाई थियो । तर जवाफमा मुख्यसचिव रेग्मी र बाणिज्यसचिव अधिकारीले ‘हामीलाई किन त्यस्को चिन्ता ? कुहिएर जान्छ, त्यसै गाडछन भन्दै कडकिनु भयो

‘दुतावासले भन्सार बिन्दुमा परीक्षण प्रयोगशाला छैन, मान्यताप्राप्त निकायबाट परीक्षण गरेको प्रमाणपत्रका आधारमा हुने ब्यवस्था होस भनेर परराष्ट मन्त्रालयलाई पत्र पठायो । परराष्टले कृषि मन्त्रालयमा पठायो, कृषिले बाणिज्य मन्त्रालयमा पठायो, तर यति गम्भीर बिषयमा प्रधानमन्त्री ओलीलाई कुनै पनि मन्त्रालयले जानकारी दिएन । जव पत्र सार्वजनिक भयो, प्रधानमन्त्रीले सोध्दा मन्त्रीहरुले आफ्नो फायलमा राखेर बसेको पाइयो,’ एक मन्त्रीले जनताटाइम्ससँग भने । उनका अनुसार तीनवटै मन्त्रालयले दुतावासको पत्रको बिषयमा प्रधानमन्त्रीलाई कुनै जानकारी नदिएकै कारण प्रधानमन्त्रीले नेकपाको संसदीय दलमा कसैको पत्रबारे आफूलाई जानकारी नभएको बताउनु भएको थियो ।

‘मुख्यसचिव र सचिवहरुले प्रधानमन्त्रीलाई पुरै गुमराहमा राखेको पाइयो, मन्त्रीहरुले पनि आफ्नो मन्त्रालयको कमाण्ड गरेको देखिएन,’ ती मन्त्रीले भने । उनका अनुसार नेपाल भारत सम्बन्ध चिसो पार्न र सरकारबिरुद्ध जनता भडकाउन भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था गरी ओली सरकारबिरुद्ध मुख्यसचिव रेग्मीले पासो थापिदिएपछि यो बिवाद आएको हो । ‘भन्सार बिन्दुमा बिषादी परीक्षण गर्ने भौतिक पुर्वाधार छैन भन्ने जान्दाजान्दै मुख्यसचिवले सरकारबिरुद्ध खेल खेले, त्यसैको पासोमा सरकार पर्यो,’ अर्का मन्त्रीले भने ।