जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १९:५६

उम्मेदवारी दिँदा एमालेमय बन्यो दाङ, भागवण्डामै रुमलिएपछि गठवन्धनको मनोनयनमा देखिएन उत्साह


घोराही, बैशाख १२ । यही वैशाख ३० गते हुन लागि रहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दाङले जिल्लाका ९ वटा पालिकामा सोमबार भव्य तामझाम, बाजागाजा अनि झाँकी र्यालीसहित उमेदवारी दर्ता गरएको छ । आइतबार गढवा गाउँपालिकामा पनि एमालेले तामझामसहित भव्यको सहभागितामा उमेदवारी दर्ता गराएको थियो ।

नेकपा एमाले निर्वाचनमा एकल उमेदवारी दिनुका साथै निर्वाचनको पक्षमा खुलेर महिनौ देखि होमिएकाले आइतबार र सोमबार भएका मनोनयन दर्ता कार्यक्रममा एमालेको सबै ठाउँमा अपार सहभागि देखियो । गठवन्धन पार्टीहरु मनोनयन दर्ता गर्ने दिनसम्म पनि उमेदवार टुंगो लगाउने, भागवन्डा मिलाउने कार्यमा बढि व्यस्त भएकाले मनोनयन गर्दा कार्यक्रममा कुनै पनि ठाउँमा उल्लासमय तवरले मानिसहरुको सहभागिता गठवन्धनले गराउन सकेन ।

घोराहीमा भव्यको सहभागितामा नाँचगान, बाजागाजासहित नगरपरिक्रमा गरेर उमेदवारी दर्ता गराएको छ । उमेदवारी दर्ताका क्रममा वडावडाबाट आएका नेता कार्यकर्ताहरुको ठूलो संख्या जम्मा भएपछि एमाले घोराहीले सबैलाई भरतपुरको चौरमा जम्मा गरेर बजार परिक्रमा गर्दै निर्वाचन कार्यालयमा उमेदवारी दर्ताका लागि लगेको थियो । वडावडाबाट नाराजुलुश लगाउँदै एकीकृत जुलुसमा मिसिदा एमालेको घोराहीको सहभागिता अन्यको तुलनामा विशाल देखिएको थियो । एमालेले उमेदवारी दर्ता गर्दा परिवार नियोजन, जिसस, अदालत, जेसीजरोडसम्म सहभागिहरुको भिड देखिन्थ्यो ।

निर्वाचनमा एकल उमदवारी दिएका कारण पनि एमालेले शक्ति प्रदर्शनस्वरुप गठवन्धनको भन्दा पनि धेरै नेता कार्यकर्ताहरुलाई जुलुसमा सहभागि बनाएको थियो । एमालेको तर्फबाट घोराही नगरप्रमुखमा नरुलाल चौधरी र उप्रमुखमा हुमा डिसीले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी घोराहीका १९ वटै वडाका उमेदवारहरुले पनि मनोनयन दर्ता गरएका छन् । उता तुलसीपुरमा पनि एमालेले ठूलो सहभागितामा मनोनयन गर्दा गराएको छ ।

बजारमा नाँचगानसहित झाकिजुलुस लिएर निर्वाचन कार्यालय पुगेको एमाले टोलीले मेयरमा टिकाराम खड्का, उपमेयरमा स्यानी चौधरीसहित १९ वडामा नै उमेदवारी दर्ता गरएको छ । एमालेले लमही, बबई, शान्तिनगर, दंगीशरण, वंगलाचुली, राजपुर, राप्ती सबै ठाउँमा मनोनयन दर्ता गर्नेक्रममा हजारौको सहभागिता रहेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो । थारु, मगरलगायतका पोशाकसहित बाजागाजाहरुको सबै ठाउँको मनोनयन दर्ताको समयमा ठूलो संख्यामा सहाभागि देखिएका थिएँ ।

गठवन्धनको मनोनयनमा देखिएन उत्साह
गठवन्धनको तर्फबाट कुरा नमिलेपछि जिल्लाका अधिकांश ठाउँमा कांग्रेस, माओवादीले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका छन् । सिंगो पार्टी टिकट र सिट बाँडफाडमा रुमलिएका कारण गठवन्धनको तर्फबाट संयुक्त र एकल उमेदवारी दर्ता गराउँदा कुनै पनि ठाउँमा उल्लेख सहभागिता देखिएको थिएन ।

समाजबादीद्वारा घोराहीमा एकल उमेदवारी
जिल्लाका सबै ठाउँमा गठवन्धनबाट लगभग बाहिरिएको जस्तो देखिएको नेकपा एकीकृत समाजबादीले घोराहीमा भने गठवन्धनलाई चुनौती दिने गरी ठूलो संख्यामा कार्यकर्ताको सहभागितामा मेयर, उपमेयर लगायत केही वडामा उमेदवारी दर्ता गराएको छ ।

घोराहीमा समाजबादीको तर्फबाट मेयरमा रामप्रसाद चौधरीले उमेदवारी दिनुभएको छ । सिटबाँडफाँड गर्दा मेयर, उपमेयर प्राप्त गरेका कांग्रेस र माओवादीले १९ वडा मध्य २ वटा वडामा समाजबादीलाई खुम्चाएपछि समाजबादीले एकल उमेदवारी दिएको हो । समाजबादीका नेता मेटमणि चौधरीको अगुवाईमा घोराहीमा उमेदवारी दर्ता गराइएको थियो ।