काठमाडौँ, बैशाख १३ । सबैभन्दा बढी मतदाता भएको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेको संख्या ५६ रहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा (एमाले)बाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका हुन् ।चितवन भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीकी रेणु दाहाल, एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदीसहित ३० जनाले मेयरमा उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, पोखरा महानगरपालिकाको मेयरमा २४ जनाले उम्मेदवारी दिएका छन् । ललितपुर महानगरपालिकाको मेयरमा १३, वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकामध्ये सबैभन्दा कम मेयरको उम्मेदवारी विराटनगरमा परेको छ । यहाँ ११ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । सोमबार ५ बजे सम्पन्न भएको मनोनयन दर्ताको कागजात मिलाउने र तथ्यांक केलाउने काम चलिरहेको आयोगले जनाएको छ । सोमवार राती ९ बजेसम्मको उक्त तथ्यांक रहेको र त्यसमा अझै उम्मेदवार संख्या थपिन सक्ने आयोगको अनुमान छ ।













प्रतिक्रिया दिनुहोस्