काठमाडौं, १३ वैशाख । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्नुभएको थियो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गर्नुभएको छ । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो ।
उहाँले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको पनि बताउनुभयो । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्