भैरहवा, बैशाख १३ । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताउनु भएको छ ।
नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको परिचय तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजयी यात्रा सुनिश्चित भएको बताउनु भयो ।
निर्वाचनमा इमान्दार र असल व्यक्तित्व भएका उमेदवारलाई मत दिनुपर्ने बताउँदै उहाँले यतिबेला स्थानीय तहको निर्वाचनको क्रमममा केही ठाउँहरुमा जस्तो सुकै प्रवृत्तिका मान्छे पनि उम्मेदवार भएको बताउनु भयो । ‘मतदातालाई विभिन्न आश्वासन र सपना बाड्न सक्छन् त्यसतर्फ सबै सचेत हुदैं एमालेले अघि सारेको जस्तो असल र इमान्दार व्यक्तित्व छनौट गर्नु पर्दछ,’ भुसालले भन्नुभयो ।

नेता भुसालले एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनैतिक इमान्दारीता र परिपक्वताको दृष्टिले अत्यन्तै असल छबीका व्यक्ति मात्रै होइन, आम सिद्धार्थनगरबासीको रोजाइको हिसाबले पनि सबैको साझा उम्मेदवार हो ।’
एमाले रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थीले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालिन विकासको योजना नै जितको मुख्य आधार भएको बताउनु भयो । पाँच वर्षमा एमाले नेतृत्वको स्थानीय तहमो देखिनेगरी भएको विकास आगमी निर्वाचनमा जितको अर्को आधार भएको उहाँको भानई छ ।
चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुनेगरी आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उपमेयरकी उम्मेदवार उमा अधिकारीले सामाजि रुपान्तरण र चेतनाको स्तरबृद्धि गर्नेगरी आफुहरुले काम गर्ने बताउनु भयो ।

सिद्धार्थनगरमा एमालेको तर्फबाट उम्मेदवार रहेका डा बस्याल पेशाले चिकित्सक हुनुहुन्छ । पाल्पामा जन्मिएर भारतमा पढेर २०२८ सालमा नेपाल आउनु भएका उहाँले भैरहवालाई ४६ वर्षदेखि कार्यक्षेत्र बनाउनु भएको छ । चिकित्सक पेशासंगै पाल्पाबाट २०४२ सालमा जनपक्षीय उमेदवार बन्नुभएको थियो । यसैगरी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उमा अधिकारीले लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

२०५७ सालमा नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुनुभएको थियो । उमा सोही समयमा अखिलको अंचल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुख समेत भएर काम गर्नुभएकोे छ । उहाँ नेकपा एमालेमा २ कार्यकाल क्षेत्रिय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्