जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार २०:३४

ढोरबाराही मन्दिरबाट एमाले उम्मेद्‌वारको उद्घोष : मतदाताको मनमा बस्छौं, लोभलालचमा पर्दैनौँ


तनहुँ, बैशाख १४ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा मनोनय दर्ता गराएका उम्मेद्वारहरूले ढोरबाराही मन्दिरमा पूजाअर्चना गर्दै घरदैलो अभियान सुरु गरेका छन् ।

बुधबार विहान शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक स्थल ढोरबारही मन्दिरमा पूजाअर्चना गर्दै घरदैलो अभियानको सुरुवात गरिएको हो । एमालेबाट उम्मेद्‌वारी दिएका मेयर, उपमेयर, वडाध्यक्षसहित वडा सदस्यहरुले मन्दिरमा पूजाअर्चना गरे ।

घरदैलो अभियानको सुरुवात गर्दै ढोरबाराही मन्दिरबाट मेयरका उम्मेद्वार मुक्तिनाथ तिमिल्सिनाले जनतासँग गरेको बाचा पूरा गर्ने बताउनु भयो। शुक्लागण्डकीबासीलाई सुखी बनाउन सडक पूर्वाधार, कृषिमा आत्मानिर्भरता, स्वास्थ्य, शिक्षालाई समेटेर घोषणापत्र जारी गरेका छौँ । ढोरबाराही मातालाई साक्षी राखेर भन्छौँ हामी जे बोल्छौँ त्यो पूरा गर्छौँ’, उतिमिल्सिनाले भन्नुभयो, ‘कुनै किसिमको लोभलालचमा पर्ने छैनौँ ।’

निर्वाचन जितेपछि कसैसँग पनि आग्रह पुर्वाग्रह राखेर काम नगर्ने उहाँको प्रतिवद्धता छ । साझा जनप्रतिनिधि बन्ने उनको भनाइ छ । ‘कोही कसैलाई पक्षपात व्यवहार गर्ने छैनौँ । विकासमा हामीले सबैलाई समान व्यवहार गर्ने ढोरबाराही माताको दर्शन गर्दै प्रतिबद्धता गरेका छौँ,’ उहाँले भन्नुभयो ।

शुक्लागण्डकीलाई नमुना बनाउने मेयरका उम्मेद्वार तिम्लिसिनको उद्घोष छ । नगर क्षेत्रमा रहेको खनिज र स्रोत साधनलाई उपयोग गर्दै विकासलाई जोड दिने उनको भनाइ छ । धार्मिक पर्यटनलाई बढवा दिन नगरपालिकामा रहेका ढोरबाराही मन्दिरसँगै, तीनखोलेदेवी मन्दिर, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम लगायतको गुरुयोजना बनाएर विकास गर्ने उहाँले बताउनु भयो ।

उपमेयरकी उम्मेद्वार फुलमाया वाग्लेले ढोरबाराही मन्दिरको विकास गर्दै बर्सेनि लाखौँ पर्यटक आउने वातावरण तय गर्ने बताइन् । मन्दिरमा पुग्ने सडक, बिजुलीको स्तरोन्नति र सरसफाइमा ध्यान दिने उहाँको भनाइ छ ।

एमालेका उम्मेद्वारले ढोरबाराही मन्दिरसँगै शुक्लागण्डकी ८ पाटनमा रहेको शहीद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गरे । २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गर्दै शहीदहरूको सपनालाई खेरा जान नदिने मेयरका उम्मेद्वार तिम्लिसिनाको उद्घोष छ । यस्तै, शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा २०६३÷०६३ को जनआन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरूको स्मृतिमा निर्माण गरिएको पार्कमा समेत पुगेर माल्यापर्णण गरे । शुक्लागण्डकी–२ कोत्रेमा रहेको शहीद लालध्वज पार्कमा समेत माल्यार्पण गरिएको छ ।

शुक्लागण्डकीमा एमालेले घरदैलो अभियान थालेको छ । अन्य दलले भने घरदैलो अभियान सुरु गरेका छैनन् । शुक्लागण्डकी नगरपालिकामा २५२ जनाको मनोनयन दर्ता भएको छ । आइतबार र सोमबार उक्त संख्यामा मनोनयन दर्ता भएको हो । नगरपालिकाको मेयरमा नौजनाले मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिनुभयो । उपमेयरमा पाँचजनाको उम्मेद्वारी परेको छ । कसैको विरुद्धमा पनि उजुरी नपरेको उहाँले बताउनु भयो ।

शुक्लागण्डकीको मेयरमा एमालेबाट मुक्ति तिम्लिसिना, कांग्रेसबाट कृष्णराजा पण्डित, एकीकृत समाजवादी पार्टीबाट कमल गैरे, जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पामबहादुर आले, मंगोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर राना, उन्नत लोकतान्त्रिक पार्टीबाट जगदिश काफ्ले र स्वतन्त्रबाट महेश्वर भट्टराईको उम्मेद्वारी परेको छ । भट्टराई कांग्रेस नेता हुन् । पार्टीले मेयरमा टिकट नदिएपछि उहाँले बागी उम्मेद्वारी दिनुभएको छ ।

उपमेयरमा एमालेबाट फुलमाया वाग्ले, माओवादी केन्द्रबाट खुमबहादुर विक (राजु), एकिकृत समाजवादी पार्टीबाट रेखा थापा बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकुमारी भुषाल र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीबाट शिवप्रसाद लम्सालले उम्मेद्वारी दिनुभएको छ । मेयर र उपमेयरमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेद्वारी दिएका हुन् ।

गएको स्थानीय निर्वाचनमा पनि यहाँ एमाले भर्सेस कांग्रेस र माओवादी गठबन्धनको भिडन्त भएको थियो । मेयरमा कांग्रेसका किसान गुरुङ र उपमेयरमा एमालेकी सविता रसाइली विजय हुनुभएको थियो । शुक्लागण्डकीको १२ वडाको वडाध्यक्षका लागि ६७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । २४ खुला सदस्यमा ९३ जनाको उम्मेद्वारी परेको छ । सहायक निर्वाचन अधिकृत लम्सालका अनुसार खुला महिला सदस्यमा ४२ र दलित महिला सदस्यमा ६७ जनाको उम्मेद्वारी परेको छ ।