जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १६:५१

भोजपुरमा रित्तिने अवस्थामा पुग्यो नेकपा एस, जिल्ला उपाध्यक्षसहित प्रभावशाली नेता–कार्यकर्ता एमालेमै फर्किए


भोजपुर, बैशाख १५ । सत्ता गठबन्धनको भागबन्डामा भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै ठूलो झट्का लागेको छ । नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ, केही जिल्ला कमिटी सचिवालय सदस्यसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेपछि भोजपुरमा नेकपा एस अत्यन्तै कमजोर बनेको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य तथा कार्यालय सचिव कृष्ण बस्नेतलगायत नेकपा एस त्यागेर एमाले प्रवेश गर्नुभएको हो । प्रताप जिल्लाका जुझारु युवा नेता हुनुहुन्छ ।

उहाँहरुसँगै भोजपुर नगरपालिका ५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले बताउनु भयो । खडकाका अनुसार आज नेकपा एसतिर लागेका चर्चित नेतासहित १०५ जना कार्यकर्ताहरु एमालेमै फर्किएका हुन ।

नेकपा एससहित विभिन्न पार्टी छाडेर एमाले रोजेकालाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गर्नुभयो ।