काठमाडौं, बैशाख १५ । नेकपा माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनमा स्थानीय चुनाव लड्ने अन्तिम तयारीमा रहेका बेला कतिपय जिल्लाहरुमा भने कार्यकर्ताहरुले नेतृत्वलाई चुनौति दिँदै सूर्य चिन्हबाट चुनाव लड्ने अन्तिम तयारी गरेका छन् ।
गुल्मीको कालिगण्डकीमा माओवादी केन्द्रले सूर्य चिन्हमा चुनाव लड्नेगरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई मत दिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ । माओवादीले अध्यक्ष लिएको गाउँपालिकामा भने एमाले आफ्नै सूर्य चिन्हबाट लड्ने लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो ।
रोल्पाको माडीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले, त्रिवेणीमा अध्यक्ष एमालेलाई र उपाध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । विप्लव, कांग्रेस र एमालेको त्रिपक्षीय तालमेलमा विप्लव नेतृत्वको नेकपालाई सुनसहरी गाउँपालिका अध्यक्ष दिने सहमति भएको छ । त्यहाँ उपाध्यक्ष कांग्रेस र बहुमत वडा एमालेले लिने सहमति भएको छ । नवलपरासीको एउटा स्थानीय तहमा जनमुक्ति पार्टीले एमालेको सूर्य चिन्हमा उपप्रमुख लड्दैछ भने त्यहाँ एमालेले प्रमुख लिएको छ ।
रुकुमपूर्व र रोल्पामा कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र गुल्मीमा माओवादी केन्द्र पनि एमालेसँगको तालमेलमा जोडिएको छ । गठबन्धन दलले विपक्षी एमालेसँग तालमेल नगर्ने निर्णय गरे पनि स्थानीय तहमा भने स्थानीय पार्टीहरुले केन्द्रको निर्देशन अस्वीकार गरेका छन् ।
एमाले कर्णाली प्रदेश ईन्चार्ज यमलाल कँडेलका अनुसार कालिकोटका स्थानीय तहहरुमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यस्तै, डोल्पाका कतिपय गाउँपालिकामा नेकपा एसले पनि एमालेसँग तालमेल गरेको र हुम्लामा एससँगै तालमेलको प्रयत्न भइरहेको कँडेलले बताउनु भयो । कर्णालीका ७९ स्थानीय तहमध्ये २५ नगरपालिका छन् । एमालेले ७७ ओटा स्थानीय तहमा उम्मेद्वारी दिएको छ । डोल्पाको सेफोक्सुण्डो गाउँपालिका अध्यक्ष एमालेबाट निर्विरोध निर्वाचित भएका छन् ।
वागमतीका १ सय १९ स्थानीय तह रहेकोमा एमालेले नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मणिन र अर्को एक गाउँपालिकामा माओवादी केन्द्रबाट बिद्रोही उम्मेद्वारी दिने स्वतन्त्र उम्मेद्वारसँग तालमेल गरेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताउनु भयो ।
बिद्रोही अध्यक्षका उम्मेद्वारले एमालेको सूर्य चिन्ह लिएर उठ्ने तयारी गरेका छन । वागमतीको काठमाडौं, ललितपुर र भरतपुर महानगरमध्ये भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको छ । हेटौंडा उपमहानगरमा पनि एमालेको तालमेल छैन ।












प्रतिक्रिया दिनुहोस्