जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १६:०८

एनएसएललाई एन्फाले दियो १५ भदौको नयाँ मिति


काठमाडौं, १६ वैशाख । विभिन्न प्रश्न र प्रतियोगिताको अस्तित्वकाबीच रोकिएको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति तोकेको छ । एन्फाले हिजो चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोज सम्मका लागि नयाँ मिति दिएको हो ।

तर, आयोजकले यस समयमा अत्याधिक वर्षा हुने कारण देखाउँदै पूर्व निर्धारित समयमै प्रतियोगिता गर्न दिन आग्रह गरेको छ । ‘हामीलाई एन्फाले हिजो नयाँ मिति दिएको छ । तर, त्यो समयमा अत्याधिक वर्षा हुने हुँदा पूर्व निर्धारित समय नै माग गरेका छौं,’ एनएसएल स्रोतले भन्यो । यसअघि आयोजकले २५ भदौदेखि ५ कात्तिकसम्म प्रतियागिताको लागि स्वीकृत मागेको थियो ।

एन्फा महासविच इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि नयाँ मिति स्वीकृत गरेको बताउनुभयो । एन्फाका तर्फबाट तुलाधरले पत्रका हस्ताक्षर गर्नुभएको छ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको एनएसएल दोस्रो संस्करण भने विभिन्न विवादपछि स्थगित भएको थियो ।

एनएसएल सहभागी १० क्लबले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई नियमविपरीत मार्की खेलाडी घोषणा गर्नु र एन्फाले अक्सनसमेत रोक्न आग्रह गर्दा नरोकिएपछि प्रतियोगिता स्थगितसम्म पुगेको थियो । यसपछि ए डिभिजन खेल्ने चार क्लबले एनएसएल प्रतियोगिताको आयोजना र अस्तित्वका विषयमा प्रश्न उठाएपछि विवाद सतहमा आएको थियो । र एनएसएस स्थगित भएको थियो ।