काठमाडौं, १६ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बाट मोवाइल डेन्टल भ्यान लिएर निजी निवास बालकोट पुगेको चिकित्सकहरुको टोलीले आज दिउँसो ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेका हुन् ।
‘केही दिन यता उहाँको दाँत दुख्ने समस्या रहेछ । परीक्षण गर्दा थाहा भयो, किराले खाएको रहेछ । विविध कारणले गर्दा त्यसलाई निकाल्नु पर्ने नै देखियो । तर उहाँले अरु नियमित औषधि खाईरहेको र अन्य परीक्षण पनि गर्नुपर्ने भएकोले अहिलेलाई थाती राख्यौँ । चुनावपछि थप उपचार गर्ने योजना बनाएका छौँ,’ अस्पताल निर्देशक डा. प्रतिक्षा श्रेष्ठले भन्नुभयो ।
अस्पतालकै स्वरुपमा रहेको मोवाइल डेन्टल भ्यानसहित गएको चिकित्सक टोलीको नेतृत्व केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले गर्नुभएको थियो । उहाँसहित क्रेनियो म्याग्जीलोफेसियल सर्जन डा. सुमित सिंह, ओरल मेडिसिन एण्ड रेडियोलोजिष्ट डा. प्रतिक्षा श्रेष्ठ, इन्डोडोन्टिस्ट डा. गुन्जना रिमालसहित ९ जनाको टोली पुगेको थियो । ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण पहिलेदेखि नै केडीसीको चिकित्सक टोलीले गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्