जनता टाइम्स

१७ बैशाख २०७९, शनिबार २१:४८

बेलायतको स्थानीय चुनावमा दर्जनबढी नेपाली मूलका उम्मेदवार, को कहाँबाट छन उम्मेदवार ?


लण्डन, बैशाख १७ । संयुक्त अधिराज्य (यूके) मा यही ५ मेमा हुन गइरहेको स्थानीय निर्वाचनमा एक दर्जन भन्दा बढी नेपाली मुलका उम्मेदवार बनेका छन । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताले आफ्नो क्षेत्रमा दैनिक जीवनयापनमा प्रभाव पार्ने सेवा सुचारु गर्न सक्ने उम्मेदवारलाई छान्नेछन् । नर्दन आयरल्याण्डमा नयाँ सरकार चुनिने छ ।

इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार बढी काउन्सिलर चुनावी मैदानमा छन् । लन्डनका सबै ३२ बरोसहित प्रमुख सहरहरु लिड्स, म्यानचेष्टर, बर्मिंगहम आदिमा निर्वाचन तयारी छ । साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर चुन्नेछन् भने एकहजार प्यारिस काउन्सिलहरुले करिब १० हजार काउन्सिलरहरु निर्वाचित गर्नेछन् । वेल्स्मा २२ लोकल काउन्सिलका सबै सिट र स्कटल्याण्डमा ३२ स्थानीय निकायका लागि मतदान हुंदैछ ।

यसपटक स्थानीय निर्वाचनमा झण्डै दर्जन नेपालीमूलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । बेलायतको संसदीय निर्वाचनमा उपस्थिति जनाउन नसकेपनि स्थानीय निर्वाचनमा केही वर्षयता नेपालीहरु आकर्षित हुँदैछन् । चुनाव आउन ५ दिन बाँकी रहँदा नेपाली उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् ।

उनीहरुले सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयाँ जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, सुरक्षित सडक, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्बन्ध विस्तार आदि प्रतिबद्धता अघि सारेर मत मागिरहेका छन् ।

नोर्थ योर्कसायर काउन्टी अन्तर्गत हिप्सवेल एन्ड कोल्बर्न प्रतिनिधित्व गर्दै कन्जरभेटिभ पार्टीबाट उम्मेदार दिएका डा. जगन्नाथ शर्मा शुक्रबार बेलायती अर्थमन्त्री ऋषि सुनाकका साथ घरदैलोमा व्यस्त हुनुभयो । अर्थमन्त्री सुनाक आफैं पनि सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुन्छ ।

बेलायती अर्थमन्त्रीले मतदातासँग शर्माले यसअघि पटकपटक काउन्सिलर र एकपटक मेयरका रुपमा काम गर्दा राम्रो ुट्रयाकु रेकर्ड बनाएको भन्दै मत मागिदिएको शर्माले बताउनु भएको छ । एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा अनुभव बटुलिसकेका भूतपूर्व गोर्खा विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर प्रतिस्पर्धामा हुनुहुन्छ ।

लन्डन बरो अफ हन्स्लोको ५६ औं मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गतवर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिलो मेयर हुनुहुन्छ । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उहाँ काउन्सिलर निर्वाचित हुनुभएको थियो ।

उता, भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोस्रो पटक काउन्सिलर प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडाका लागि काउन्सिलर पदमा उम्मेद्वारी दिनुभएको छ । ।

नेपाली जनसंख्या अत्यधिक रहेको ग्रीनवीच बरोमा काउन्सिलर पदको उम्मेद्वारी दिएका जीत रानाभाट पनि यतिखेर अन्तिम चरणमा मत माग्न व्यस्त हुनुहुन्छ । उहाँले ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडाको काउन्सिलरका लागि उम्मेदवारी दिनुभएको छ ।

भाषाको आधारमा ग्रीनवीचमा अंग्रेजी पछि नेपाली भाषा बढी बोलिनेमा दोश्रो छ । अहिले लेबर पार्टीको प्लमस्टिड वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका जीत विगत ८ वर्षदेखि उक्त पार्टीसंग आवद्ध हुनुहुन्छ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का अध्यक्ष उहाँ एनआरएनए यूकेको निवर्तमान कार्यसमितिमा सचिव हुनुहुन्थ्यो ।

यस्तै लन्डन वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार हुनुहुन्छ । वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उहाँले उम्मेदवारी दिनुभएको हो । महिला व्यवसायी सुमन पुनले नेपाली उल्लेख्य रहेको रसमोर बरो काउन्सिल अन्तर्गत चेरिवुड वार्डका लागि कन्जर्भेटिभ पार्टीका तर्फबाट उम्मेदवार दिनुभएको छ । यसैगरी कमल गुरुङ लेबर पार्टीबाट लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्नटओक क्षेत्रमा काउन्सिलर उम्मेदवार हुनुहुन्छ ।

पूर्व गोर्खा सैनिक भीम सारुमगरले पनि ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेद्वारी दिनुभएको छ । उहाँ बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बन्नुभएको हो ।